© 2026
दाङ, ८ मङ्सिर ।
संचार तथा सुचना प्रविधि मन्त्री रेखा शर्माले नेपाली समाजमा रहेका मौलक कला, संस्कृति संरक्षण गर्नु राज्यको कर्तव्य भएको बताएकी छन् । बिहीबार बंगलाचुली गाउँपालिकाले स्थानीय कला संस्कृति संरक्षणका लागि आयोजना गरेको बृहत भैलो महोत्सवलाई सम्बोधन गर्दै सरकारका प्रवक्ता समेत रहेकी मन्त्री शर्माले आफ्नो संस्कृति जोगाउनु नयाँ र पुरानो पुस्ता एक ठाउँमा हुनुपर्छ भन्ने अभियानमा बंगलाचुली गाउँपालिकाले थालेको नयाँ अभ्यासले राज्य मौलिक लोक कला संस्कृति संरक्षणमा गम्भीर रहेको स्पष्ट पारिन् ।
अरुलाई आफ्नो मौलिक लोक कला संस्कृति पुर्याउनु पर्छ भन्ने मान्यतामा बंगलाचुली गाउँपालिकाले खेलेको भूमिका अनुकरणीय रहेको भन्दै उनले भनिन्, “सरकारको काम राज्यका हरेक निकायमा रहेका संस्कृति सम्पदाको संरक्षणसँगै प्रवद्र्धन गर्नु कर्तव्य पनि हो । यसमा हामी सबैको ध्यान जान जरुरी छ ।”

यसैगरी उनले अघिल्लो वर्ष निर्वाचनमा भोट माग्ने बेलामा गरेको वाचा र प्रतिवद्धता पूरा गर्न आफु प्रतिवद्ध रहेको बताइन् । अहिले राज्यको निर्णायक तहमा रहेको अवस्थामा जनतासामु गरेका वाचा पूरा गर्ने दायित्वमा स्पष्ट रहेको स्मरण गराइन् । बंगलाचुली गाउँपालिकाले अघि सारेको एक घर एक धाराको नारा पूरा गर्न केन्द्र र प्रदेश सरकारले काम थालेको बताउँदै मन्त्री शर्माले यो काम चाँडै साकार हुने विश्वास दिलाइन् । जिल्लाको पहाडी भुगोल धेरै भएको पालिकामा अहिलेसम्म सहज सडक पूर्वाधार, सिँचाई, खानेपानी, स्वास्थ्यलगायत विकासका काममा सरकारले ध्यान दिदै आएकोमा अरु ठाउँमा भन्दा बंगलाचुलीका लागि विशेष रुपमा ध्यान दिईरहेको उनले बताइन् ।
दाङ र प्युठान जोड्ने मदन भण्डारी मार्ग, विपी मार्गलगायत पालिका भित्रका सहायक सडकको काम पूरा गर्ने अभियानका साथ सरकार अघि बढेको उनले बताइन् ।
“दुई जिल्ला जोड्ने लाईफलाईनको सडक चाँडो पूरा गर्न गम्भीरतापूर्वक काम भईरहेको छ” उनले भनिन् ।
गाउँपालिका अध्यक्ष तुलसीराम पुनको अध्यक्षतामा भएको कार्यक्रममा लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालले संस्कार संस्कृतिलाई पुस्ता हस्तान्तरणको आधार बनाउन बंगलाचुली गाउँपालिकाले नयाँ अभ्यासको थालनी गरेको बताए । उनले नयाँ पुस्ताले भुल्दै गएका मौलिक कला, संस्कृतिलाई सम्झाउन यस प्रकारको कार्यक्रमले सामाजिक एकता कायम गर्न सफल भएको बताए ।
पालिकाको आठवटै वडाबाट १६ वटा समूह सहभागी भई गरिएको बृहत भैलो महोत्सवमा वडा नम्बर ५ साकिनेको समूह सर्र्वोत्कृष्ट भएको छ । सो महोत्सवमा एकल रुपमा भूमे भैलो नृत्य प्रस्तुत गरेका धानबहादुर बिकलाई उत्कृष्ट घोषित गरिएको थियो ।