Butwal Today

९५ वर्षीया खिमाको दाहिने खुट्टाको सफल शल्यक्रिया

काठमाडौ उपचार गर्न जान २१ हजार रुपैयाँ जहाजको टिकट काटेका ठाकुर प्रसाद श्रेष्ठले आमा ९५ वर्षकी खिमाको बुटवलको चौराह अस्पतालमा गराए खुट्टाको सफल शल्यक्रिया गराए ।
२४ कार्तिक २०८०, शुक्रबार
अ+
अ-

बुटवल, २४ कात्तिक । उमेरले बुढ्यौली लागे पछि शल्यक्रिया जोखिम मानिन्छ । अझ त्यसमा पनि उच्च रक्तचापको समेत औषधि सेवन गर्दै आएकी ९५ वर्षीय वृद्धाको चौराह अस्पताल प्रालिमा खुट्टाको सफल शल्यक्रिया गरिएको छ ।

सन्धिखर्क नगरपालिका वडा नं. १ अर्घाखाँचीकी ९५ वर्षकी खिमा कुमारी श्रेष्ठ घरमा साँझपख खाना खाएर हात चुठ्न लाग्दा लडिन् । परिवारका सबै अत्तालिए । हातखुट्टा राम्ररी चलाएकी उनी दाहिने खुटामा केही दुखाई मात्र भएको परिवारको सदस्यलाई बताईन् । मर्केको आशंकामा उपचार गरेपनि केही दिनपछि भने खुट्टा सुन्निने र दुखाई बढ्यो ।

उनलाई नजिकको क्लिनिकमा लगेर एक्सरे गरेर हेरियो । नातिनी बुहारी कृष्णा श्रेष्ठले एक्सरे गरेर हेर्दा हिपको हडीमा समस्या देखिएको बताईन् । उपचारका लागि काठमाडौ लैजाने गरी टिकट समेत लिए । बुटवलमा बसोबास गर्ने नाती र नातिनी बुहारीले बुटवलको चौराह अस्पतालको बारेमा सुनेका थिए । सोही क्रममा चिकित्सकसंग सल्लाह गर्दा डा मदन ज्ञवालीले बुटवलमै उपचार सम्भव हुने बताए ।

१९ गते अस्पतालमा भर्ना गरिएकी उनको भोलिपल्ट आवश्यक तयारीसहित शल्यक्रिया गरियो । उनको दाहिने खुटाको फिमर आई टि फयाक्चरको सफल उपचार भएको हो । डा मदन ज्ञवालीको नेतृत्वमा अपरेसन सफल भयो । पाँच दिनको उपचारपछि शुक्रबार उनलाई डिस्चार्ज गरिएको छ । ‘अजीलाई अहिले ठिक भएको छ’—उनकी नातिनी बुहारी कृष्णाले भनिन् । चोटभन्दा पनि उमेरका हिसाबमा जोखिम मानिएको शल्यक्रिया सफलतापूर्वक भएको उपचारमा संलग्न चिकित्सक ज्ञवाली बताउँछन् ।

यता छोरा ठाकुर प्रसाद श्रेष्ठले काठमाडौं लैजानका लागि २१ हजार रुपैयाँ प्लेन टिकट नै काटेर पनि संयोगले चिकित्सकसंग भेटेर बुटवलमा नै उपचार सम्भव भएको बताए । बुटवलमा गुणस्तरीय सेवा पाएको उनले बताए । हरेक उपचारलाई काठमाडौ जानुपर्ने बाध्यतालाई चिर्नेगरी बुटवलमा बिशिष्टिकृत सेवालाई जोड दिदै जानुपर्ने उनको सुझाव छ ।

अस्पतालका जनसम्पर्क अधिकारी जनक कुँवरले चौराह अस्पतालको सेवालाई न्यूरो ट्रमा सेन्टरका रुपमा विकास गर्दै गएको बताए । यो क्षेत्र र आसपासका विभिन्न जिल्लामा हुने सडक दुर्घटनाका घाईतेहरुको सफल उपचार गर्न आफुहरु सफल भएको बताए ।

दैनिकजसो १० देखि १५ जना दुर्घटनाका बिरामी अस्पतालमा आउने र सेवा लिने गरेको उनले बताए । अस्पतालमा विशेषज्ञ र अनुभवी चिकित्सकहरुको सेवा दिंदा सेवाग्राही सन्तुष्ट रहेको उनले बताए । अस्पतालले उनको उपचारमा सहुलियत उपलब्ध गराएको उनले बताए । यसैबिच अस्पताल ब्यवस्थापनले उनको केक काटेर दीर्घायू र सुस्वस्थ्यको कामनासहित बिदाई गरेका छन् ।

भिडियो सामग्री