Butwal Today

आफूखुशी राहत सङ्कलन र वितरणमा रुपन्देही प्रशासनको रोक

२० कार्तिक २०८०, सोमबार
अ+
अ-

बुटवल, २० कात्तिक ।

रुपन्देही प्रशासनले आफूखुशी राहत सङ्कलन र वितरणमा रोक लगाएको छ ।

जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पका पीडितहरुलाई राहत सङ्कलन गर्ने भन्दै बैङ्क खाता सार्वजनिक गर्ने तर सङ्कलनको विवरण सार्वजनिक नगर्ने प्रवृत्ति बढेपछि राहत सङ्कलन र वितरणलाई पारदर्शी र एकद्धार बनाउने उद्देश्यले यो निर्णय गरिएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिए ।

एकद्वार प्रणालीमार्फत प्रभावित क्षेत्रमा पठाइएका राहत सामग्री वास्तविक पीडितको हातमा पर्ने र व्यवस्थापनमा पनि सहयोग पुग्ने रुपन्देही प्रशासनको भनाइ रहेको छ । प्रशासन र स्थानीय सरकारको अनुमतिमा मात्रै राहत सङ्कलन र वितरण हुने प्रमुख जिल्ला अधिकारी अर्यालले बताए ।

रुपन्देहीबाट जाजरकोट पुग्नका लागि ट्रक भाडा १ लाख रुपैयाँ पर्ने भएकाले १० लाख रुपैयाँ बराबरको राहत सङ्कलन भएपछि मात्रै त्यहाँको स्थानीय प्रशासनसँग समन्वय गरेर लैजान अनुमति दिने सर्वपक्षीय बैठकबाट निर्णय भएको प्रशासनले बताएको छ ।