Butwal Today

जोखिममा पश्चिम नेपालः वैशाखयता ३७ पटक भूकम्प, बाजुरा र बझाङपछि जाजरकोटमा ठूलो क्षति

१९ कार्तिक २०८०, आइतबार
अ+
अ-

बुटवल, १९ कात्तिक ।

शुक्रबार राति ११ः४७ बजे जाजरकोटको रामिडाँडा केन्द्रविन्दु बनाएर भूकम्प गयो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार मध्यरातमा ६.४ म्याग्नेच्युडको भूकम्प गएको हो ।

सो भूकम्पमा परी हालसम्म १५७ जनाको मृत्यु भएको छ । भूकम्पले धेरै घरहरुमा क्षति पुगेको छ । सुतिरहेका बेला घटना भएकाले घाइते र मृत्यु हुने बालबालिका धेरै परेका छन् । हाल सरकारी निकाय र सुरक्षा निकायहरु प्रभावित क्षेत्रमा राहत र उद्धार कार्यमा जुटिरहेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड स्वयंम् भूकम्प प्रभावित क्षेत्रमा पुगेर फर्किएका छन् ।

पश्चिम नेपाल भूकम्पका कारण जोखिमयुक्त मानिँदै आएको क्षेत्र हो । गोरखाको बारपाकलाई केन्द्रविन्दु बनाएर २०७२ वैशाख १२ मा आएको भूकम्पले पश्चिम नेपालमा त्यति प्रभाव पारेको थिएन । त्यसयताका भने पश्चिम नेपालमा पटक–पटक भूकम्प र परकम्प गइरहेको थियो । धक्का बारम्बार आइरहेको अवस्थामा त्यहाँ ठूलो भूकम्प जान सक्ने चेतावनी दिइँदै आइएको थियो ।

शुक्रबार राति गएको भूकम्पले भने पश्चिम जाजरकोट र रुकुम पश्चिममा ठूलो क्षति गरेको छ । भूकम्प मापन केन्द्रका अनुसार जाजरकोटलाई केन्द्रविन्दु बनाएर रातियता पटक–पटक परकम्प गइरहेको छ ।

६.४ म्याग्नेच्युडको भूकम्पपछि मध्यराति १२ः८ बजे ४.५ म्याग्नेच्युडको धक्का मापन भएको छ । यस्तै, मध्यराति १२ः२९ बजे ४.२ म्याग्नेच्युड, १२ः३५ बजे ४.३ म्याग्नेच्युडको भूकम्प गयो ।

यस्तै, शनिबार बिहान ४ः१६ बजे ४.६ म्याग्नेच्युडको परकम्प मापन भएको भूकम्प मापन केन्द्रले जनाएको छ । ४ म्याग्नेच्युडभन्दा कमका परकम्प पनि लगातार गइरहेको छ ।

यसअघि मध्य नेपालको धादिङलाई केन्द्रविन्दु बनाएर कात्तिक ७ गते ६.१ म्याग्नेच्युडको भूकम्प गएको थियो ।

असोज १६ गते बझाङलाई केन्द्रविन्दु बनाएर ६.३ म्याग्नेच्युडको भूकम्प गएको थियो । त्यसबेला धेरै मानवीय र भौतिक क्षति भएको थिएन । सो भूकम्पमा एक जनाको मृत्यु भएको थियो भने १ सय ५० भन्दा बढी घरमा क्षति पुगेको थियो । यद्यपि, सो भूकम्प पश्चात पश्चिम नेपालको बझाङलाई केन्द्रविन्दु बनाएर आश्विन र कात्तिकमा पटक–पटक भूकम्प गएको थियो ।

हुन त यो वर्षको सुरुवातबाट नै पश्चिम नेपालमा भूकम्पको धक्का गइरहेको थियो । बाजुरा केन्द्रविन्दु बनाएर वैशाख १० गते ४.१ म्याग्नेच्युड र वैशाख १४ गते ४.९ म्याग्नेच्युडको भूकम्प गएको थियो ।

यस्तै, वैशाख १५ गते नै बाजुरामा ५.९ म्याग्नेच्युड र ४.१ म्याग्नेच्युडको भूकम्प गएको थियो । वैशाख १५ गतेको भूकम्पमा परी एक जनाको मृत्यु भएको थियो भने केही घरमा क्षति पुगेको थियो ।

पश्चिम नेपालमा यो वर्ष ४ म्याग्नेच्युडमाथिका भूकम्प :

कहिले समय म्याग्नेच्युड इपिसेन्टर
2023-11-03 22:31 4.6 Jajarkot
2023-11-03 18:50 4.3 Jajarkot
2023-11-03 18:44 4.2 Jajarkot
2023-11-03 18:23 4.5 Jajarkot
2023-11-03 18:02 6.4 Jajarkot
2023-10-21 13:10 4.4 Bajhang
2023-10-18 16:18 4.6 Bajhang
2023-10-16 03:41 4.8 Darchula – India Border
2023-10-12 20:06 5.0 Bajhang
2023-10-11 18:37 5.2 Bajhang
2023-10-07 06:47 4.3 Bajhang
2023-10-07 06:00 5.3 Bajhang
2023-10-05 17:06 4.5 Bajhang
2023-10-03 23:58 4.3 Bajhang
2023-10-03 22:42 4.3 Bajhang
2023-10-03 19:05 4.3 Bajhang
2023-10-03 18:31 4.1 Bajhang
2023-10-03 11:53 5.0 Bajhang
2023-10-03 11:34 5.0 Bajhang
2023-10-03 10:46 4.3 Bajhang
2023-10-03 10:43 4.1 Bajhang
2023-10-03 10:00 4.1 Bajhang
2023-10-03 09:28 5.1 Bajhang
2023-10-03 09:21 6.3 Bajhang
2023-10-03 08:55 5.3 Bajhang
2023-07-13 05:32 4.6 Humla
2023-06-19 23:10 4.0 Darchula
2023-06-12 01:53 4.4 Bajura
2023-05-23 22:21 4.5 Bajhang
2023-05-22 13:09 4.1 Bajura
2023-05-10 23:30 4.3 Bajura
2023-05-04 07:32 4.1 Bajura
2023-05-01 08:50 4.0 Humla
2023-04-28 03:40 4.1 Bajura
2023-04-27 19:45 5.9 Bajura
2023-04-27 18:13 4.9 Bajura
2023-04-23 07:27 4.1 Bajura

पश्चिम नेपालमा शताब्दीयता ठूलो भूकम्प नगएकाले जुनसुकै बेला ठूलो घटना हुन सक्ने चेतावनी भूकम्पविदहरुले दिँदै आएका थिए । भूकम्पको जोखिम क्षेत्रमा रहेर लामो समयसम्म भूकम्प नजाँदा त्यसले महाभूकम्प उत्पन्न गर्न सक्ने शक्ति सञ्चित गर्ने उनीहरुले बताउँदै आएका थिए ।