Butwal Today

एआईजी ज्ञवालीलाई कारबाही माग गर्दै उजुरी

१७ कार्तिक २०८०, शुक्रबार
अ+
अ-

काठमाडौं,१७ कात्तिक । उमेर विवादमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेका नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक एआईजी श्यामलाल ज्ञवालीलाई कारबाही माग गर्दै प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा पनि उजुरी परेको छ।

शेरबहादुर चन्दले सुशासन समितिलाई निवेदन लेख्दै प्रहरी सेवामा प्रवेश गर्दा अयोग्य हुँदाहुँदै पनि उमेर ढाँटेर प्रवेश गरेको विषयमा आफूले दिएको उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तामेलीमा राखेकाले आवश्यक कारबाही प्रक्रिया अघि बढाउन अनुरोध गरेका हुन्।

२०५० मंसिर १३ गते प्रहरी निरीक्षकका लागि गोरखापत्रमा प्रकाशित सूचनाबमोजिम ज्ञवाली प्रहरी सेवामा प्रवेश गरेका थिए। त्यसबेलाको नियमअनुसार २५ वर्ष नाघेका व्यक्ति प्रहरी निरीक्षकमा भर्ना हुन पाइँदैनथ्यो। ज्ञवाली सेवामा प्रवेश गर्दा २५ वर्ष नाघिसकेको उनकै नागरिकताबाट खुलेपछि अख्तियारमा उजुरी परेको थियो।
तर अख्तियारले उनलाई कारबाही नगरी आफ्नो उजुरी नै तामेलीमा राखेर उनको पक्षपोषण गरेको आरोप निवेदक चन्दले लगाएका छन्।

चन्दले सुशासन समितिमा दिएको निवेदनमा भनेका छन्, प्रमाण तथा तथ्यहरूको आधारमा श्यामलाल ज्ञवालीउपर आवश्यक थप छानबिनको लागि सम्मानित अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख समेतका जिम्मेवार अधिकारीहरूलाई त्यस सम्मानित समितिमा झिकाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट द. नं ०४३७४७ मिति २०७२।११।१४ को उजुरीलाई तामेलीबाट हटाउन लगाई तत्काल कानुनी कारबाहीमा ल्याई नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक श्यामलाल ज्ञवालीलाई भ्रष्टाचार निवारण ऐन २०१७ र हाल कायम भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम अदालतमा मुद्दासमेत दर्ता गर्न निर्देशन जारी हुन सादर अनुरोध छ।’