Butwal Today

गुल्मीको सत्यवती जाऔं, पर्यटकिय स्थलमा रमाउँ

गाउँपालिका भित्र थुप्रै पर्यटकिय स्थल भएपनि प्रचारप्रसारको कमिले पर्यटक तान्न नसकीरहेको अवसरमा पालिकाले बजेट नै छुट्टाएर पर्यटक तान्नको लागि पूर्वाधार विकास सहित प्रचारप्रसारको काम सुरुवात गरेको छ ।
१६ कार्तिक २०८०, बिहीबार
अ+
अ-

बुटवल, १५ कार्तिक । सत्यवती गाउँपालिकाले सत्यवती पर्यटकिय स्थानलाई परिचित बनाउने अभियान शुरु गरेको छ । गाउँपालिकामा रहेका पर्यटकिय स्थलहरूको भौतिक विकास गरेर गाउँपालिका भित्र धेरै पर्यटक भित्राउने लक्ष्य गाउँपालिकाको छ । नेपाल सरकारले घोषणा गरेको एक सय पर्यटकिय स्थान मध्ये सत्यवती पर्यटकीय स्थल पनि एक रहेको गाउँपालिकाका अध्यक्ष टिकाराम पाण्डेले बताए । उनले गाउँपालिका भित्र थुप्रै पर्यटकिय स्थल भएपनि प्रचार प्रसारको कमीले पर्यटक आउन नसकेको बताए । त्यसका लागि अब बजेट नै छुट्याएर गाउँपालिकाले काम शुरु गरेको अध्यक्ष पाण्डेको भनाइ छ ।

सत्यवती गाउँपालिकाको वडा नं. ३ ठुलोलुम्पेकमा रहेको सत्यवती पर्यटकिय स्थानलाई रमणिय बनाउन गाउँपालिका र युएनडिपीको सहकार्यमा ४२ लाख रुपियाँ बजेट छुट्याएर पदमार्ग, विश्राम स्थल, फोटो सेसन स्थल, डस्बिन लगायतका भौतिक पूर्वाधारको काम भइरहेको छ । पर्यटकिय स्थलको २५ सय मिटरमा रहेको बुढी सत्यवती २२ सय मिटरमा रहेको कान्छी सत्यवती विकासका काम भइरहेको छ । यी सत्यवती मन्दिरमा आफ्नो चाहना अनुसारको वर मागेर पाईन्छ भन्ने जन विश्वास रहेको छ । प्रत्येक वर्ष कार्तिक पूर्णिमामा यहाँ आएर १०औं हजार भक्तजनले आफ्नो इच्छा ब्यक्त गर्ने र पुरा भएको बताउँदै आएका छन् ।

अध्यक्ष पाण्डेका अनुसार सत्यवती बज्यैका नौ बहिनी मध्ये जेठी कान्छी सतयवती गाउँपालिकामा रहेको भन्ने जन विश्वास रहेको बताए । उनले सत्यवती बज्यैले कानले नसुन्ने भएकाले यहाँ आउने भक्तजनले चिच्चाएर बर माग्ने गरेको परम्परा रहेको बताए । यहाँ आउने भक्तजनले छोराछोरी, पढाई, जागिर लगायत आफनो जीवन सुखी हुन चाहिने चिजलाई माग्ने र पुग्ने गरेको विश्वास रहेको बताए । पाण्डेले यहाँ रहेका सत्यवती मन्दिर र त्यहाँ सम्म पुग्ने बाटो भौतिक संरचना निर्माण गर्न गाउँपालिकाले १ करोड ६० लाख रुपियाँ विनियोजन गरेर काम गरिरहेको बताए । उनले गाउँपालिकामा रहेको थाप्ले डाँडोलाई पनि पर्यटकिय क्षेत्र भएको बताए । यहाँ आउने पर्यटकले विभिन्न प्रकारका जडिबुटि, घोरल, मृग बाघ, चितुवा लगायतका जंगली जनावर समेत देख्न सक्छन् । २६ सय ९० मिटर उचाईमा रहेको थाप्ले डाँडाबाट माछापुच्छे, धौलागिरी हिमाल समेत देख्न सकिन्छ । हिजोआज यहाँ स्थानीय पर्यटक मात्र नभएर बाह्य र विदेशी पर्यटक समेत रमाउन आउने गरेको अध्यक्ष पाण्डेयले बताए ।

यहाँ गाउँपालिकाले गत वर्षबाट चिया खेती शुरु गरेको छ । कति पर्यटक चिया बगानमा रमाउन आउँछन् । यहाँ आउने पर्यटकहरूले होमस्टेमा बास बस्ने र रमाउने वातावरण रहेको छ यहाँ २८ घर होमस्टे रहेका छन् । यो संख्या कम भएको भन्दै गाउँपालिका र युएनडिपीले होमस्टेलाई अझै राम्रो बनाउन तालिमको आयोजना गरेको र त्यसका लागि ३ लाख ५० हजार रुपियाँ बजेट छुट्याएको गाउँपालिका अध्यक्ष पाण्डेले जानकारी दिए ।

गुल्मीको सत्यवती गाउँपालिका ऐतिहासिक, धार्मिक, सांस्कृतिक र भौगोलिक महत्व बोकेको गाउँपालिका हो । साविकका गाउँ विकास समितिहरू ठूलो लुम्पेक, अस्लेवा, लिम्घा, हसरा, जोहाङ्ग, जुनिया र भार्सेको संयोजनबाट बनेको छ ।
यस गाउँपालिकामा ८ वटा वडा कार्यालयहरू रहेका छन् । ११५.९२ वर्गकिलोमिटर क्षेत्रफल रहेको यस गाउँपालिकाको जनसंख्या २३ हजार ८ सय ७ छ भने केन्द्र जोहाङ्ग खैरेनीमा रहेको छ । यो गाउँपालिका गुल्मी जिल्लाको सवैभन्दा ठूलो र बढी जनसख्या भएको गाउँपालिका हो ।