© 2026
बुटवल, १४ कात्तिक । प्रधानमन्त्री पुष्पकमल दाहालले देशमा दिगो शान्ति र सद्भाव सुनिश्चित गर्नु आफ्नो अन्तिम उद्देश्य रहेको बताएका छन् । मंगलबार बुद्ध जन्मस्थल लुम्बिनीमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गुटेरसको भ्रमणका क्रममा सम्बोधन गर्दै प्रधानमन्त्रीले नेपालले शान्ति प्रक्रियालाई सफलतासाथ अघि बढाएको र अब दिगो शान्ति र सद्भाव सुनिश्चित गर्नु आफ्नो अन्तिम उद्देश्य रहेको बताएका हुन् । शान्तिको खोज सधैँ मानवताको सर्वाेच्च आकांक्षा भएको बताउंदै प्रधानमन्त्री दाहालले देशको परिवर्तन र रूपान्तरणका लागि संघर्षको नेतृत्व गर्ने नेताका रुपमा आफूले शान्ति र द्वन्द्वको मूल्य बुझेको उल्लेख गरे । ‘हाम्रो शान्ति प्रक्रिया समान परिस्थितिको सामना गरिरहेका देश र समाजका लागि राम्रो उदाहरण हुनसक्छ भन्ने हाम्रो विश्वास छ’– लिखित मन्तव्यमा प्रधानमन्त्री दाहालले भने–‘अहिले आफूहरु शान्ति प्रक्रिया अन्तर्गत सङ्क्रमणकालीन न्याय प्रणालीको बाँकी काम टुङग्याउनमा संलग्न छौं ।’
प्रधानमन्त्री प्रचण्डले विश्वभर शान्ति कायम हुन दिनुपर्ने र शान्तिपूर्ण वातावरणमा बाँच्न पाउने अधिकार सबैका लागि सबै परिस्थितिमा सबैले कायम राख्नुपर्नेमा जोड दिए ।
विश्व शान्ति र सुरक्षा सुनिश्चित गर्न सबै प्रकारका असमानता, अन्याय, शोषण, वञ्चितता र गरिबीको अन्त्य गरिनुपर्ने प्रधानमन्त्री प्रचण्डको जोड थियो ।
बुद्धको जन्मस्थल, बुद्ध धर्मावलम्बीको पवित्र तीर्थस्थल मात्र नभई शान्ति र सद्भावको केन्द्र भएको प्रधानमन्त्री दाहालले उल्लेख गरे । लुम्बिनीले मानवजातिको शाश्वत र प्रबुद्ध शिक्षाको आधारमा व्यापक रूपमा प्रेरणा र मार्गदर्शन गरिरहने उनले उल्लेख बताए ।
महासचिव गुटेरेसको लुम्बिनी भ्रमणको विशेष महत्व रहेको र यसले विश्वव्यापी रूपमा समान मूल्यको संरक्षण र प्रवद्र्धन गर्न खोज्ने संयुक्त राष्ट्रसंघको बडापत्रबीच अवस्थित सहजीवन सम्बन्धलाई सुदृढ पार्ने प्रधानमन्त्रीको भनाई छ ।
प्रधानमन्त्री प्रचण्डले लुम्बिनीको विकासमा संयुक्त राष्ट्रसंघ लामो समयदेखि संलग्न रहेको उल्लेख गर्दै सन् १९७२ मा जापानी वास्तुकार केन्जो टांगेद्वारा युएनडिपीको सहयोगमा गुरुयोजना तयार भएको बताए । सोही बेलादेखि संयुक्त राष्ट्रसंघले शान्ति र सद्भावको प्रवद्र्धन, तीर्थ र पर्यटनको एक प्रमुख केन्द्रको रूपमा लुम्बिनीको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको उनको भनाइ थियो । ‘शान्ति, सद्भाव र करुणा हाम्रा जन्मजात गुण हुन्, जुन हामीले शान्तिका धर्मदूत र नेपालका प्रबुद्ध पुत्र बुद्धबाट पाएका छौं’–प्रधानमन्त्री प्रचण्डले भने–‘विविधतामा एकता नै हाम्रो शक्ति हो र सद्भाव र सहअस्तित्व नै हाम्रो संस्कृतिको आवश्यक तत्व हो । हामी भवतु सर्व मंगलम् र वसुधैव कुटुम्बकम्मा विश्वास गर्छौं ।’
प्रधानमन्त्री दाहालले पञ्चशीलका सिद्धान्त, असंलग्नता, संयुक्त राष्ट्रसंघको बडापत्र, अन्तर्राष्ट्रिय कानुन र विश्व शान्तिका मूल्य मान्यताले नेपालको परराष्ट्र नीतिलाई निरन्तरता दिइरहेको बताए ।
‘सौहार्दता र भ्रातृत्व हाम्रा अन्तर्राष्ट्रिय संलग्नताका आधारभूत विशेषता हुन्, हामी संयुक्त राष्ट्र संघलाई केन्द्रमा राखेर बहुपक्षीयताप्रतिको हाम्रो प्रतिबद्धतामा अडिग छौँ’–उनले भने । त्यसैगरी उनले हिमाली क्षेत्रमा बसोबास गर्ने मानिसको जीवनमा जलवायु परिवर्तनको प्रभावप्रति विश्वव्यापी ध्यानाकर्षण गर्ने महासचिव गुटेरेसकोे प्रतिबद्धताको प्रशंसा गरे ।