© 2026
बुटवल,११ कात्तिक । कतिपय सञ्चार माध्यम र पत्रकारले स्वीकृति बेगर मनपरी ढंगले विज्ञापन प्रकाशन गर्ने र भुक्तानी माग्ने समस्याले हैरान भएपछि देवदह नगरपालिकाले कडा निर्णय गर्दै पालिकाको स्वीकृति लिएरमात्रै विज्ञापन तथा सूचना प्रकाशित गर्नुपर्ने भनेको छ ।
कतिपय सञ्चारमाध्यमले औपचारिक गतिविधिका समाचार प्रकाशन गरेवापत समेत एक लाखसम्म भुक्तानी माग गरेपछि नगरपालिकाले यस्तो बेथिति रोक्न विना स्वीकृति प्रकाशित विज्ञापन वा अन्य कुनै पनि सामग्रीको रकम भुक्तानी नहुने स्पष्ट पारेको हो ।
देवदह नगरपालिकाले पालिकाको स्वीकृति लिएरमात्रै विज्ञापन तथा सूचना प्रकाशित गर्न सूचना जारी गर्दै निर्देशन दिएको छ ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाले बेथिति रोक्न र नगरपालिकामा आर्थिक अनुशासन कायम गर्न यस्तो निर्णय गरेको बताए ।

‘एउटा स्थानीय तहले ७७ जिल्लाका सञ्चारमाध्यम र पत्रकारलाई सूचना र विज्ञापन दिन सक्दैन र त्यो पालिकाको कार्यक्षेत्र पनि होइन’–सापकोटाले भने–‘अब हामीले सञ्चार माध्यमहरु पनि व्यवसायिक ढंगले चलेका हुन् होइनन् वा विज्ञापन माग्नकै लागि डकुमेन्ट मिलाएर दर्ता भएका हुन् सबै हेरेर मात्र सूचना विज्ञापन दिने थालनी गर्दैछौं, यसले देशभर सकारात्मक सन्देश जाने र बेथिति रोकिने विश्वास छ ।’