Butwal Today

बुटवलको जितगढीमा सरायँ नाच

११ कार्तिक २०८०, शनिबार
अ+
अ-

बुटवल, ११ कात्तिक ।

बुटवल १२ जितगढी सरायँनाच ब्यवस्थापन समितिको आयोजनामा ऐतिहासिक सरायँ नाचसम्पन्न भएको छ ।

शत्रुलाई पराजित गरेपछि विजय उत्सवको रुपमा परापुर्वक कालदेखि पश्चिम पहाडका गुल्मी, अर्घाखाँची, पाल्पा, प्युठान, बाग्लुङमा बडादशैको एकादशीदेखि पूर्णिमा सम्म देवीका मन्दिर शक्ति पीठमा तथा विभिन्न कोट दुर्गाा मन्दिरहरुमा खेलिने सरायँ नाच बसाइसराइसंगै तराईका रुपन्देही, कपिलबस्तु, दाङ लगायतका जिल्लामा पनि सरेको छ । गुल्मी, अर्घाखाँची र पाल्पामा सदियौं देखि दशैँमा नाचिने सरायँ नाच निकै उत्कृष्ट नाच मानिन्छ ।

संस्कृति सभ्यता जोगाइ राख्न गरिएका प्रयासले परम्परा संस्कृतिलाई युवा पुस्तामा हस्तान्तरण गर्न सहयोग पुर्याउने संस्कृतिका जानकार राजेन्द्र आचार्यले बताए ।

ऐतिहासिक स्थान जितगढीमा नचाइएको सरायँ नाचमा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डे, उप प्रमुख सावित्रा अर्याल लगायत विभिन्न प्रशासनिक निकाय, सामाजिक र राजनीतिक ब्यक्तित्वहरुको सहभागिता मात्रै नभै सर्वसाधारणसँगै घण्टौ सम्म सराय नाचेपछि थप हौसलासँगै उल्लासमय वातावरण बनाएको जितगढी सरायँनाच ब्यवस्थापन समिति अध्यक्ष खिमबहादुर थापाले बताए । प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले सरायँ नाच साँच्चिकै दशैको मुल विषय भएकाले महत्वपूर्ण संस्कारलाई बसाइ सराई संगै आफ्नो सस्ंकृति जोगाउन लागेकोमा आफु हर्षित भएको बताए ।

हिन्दुहरुको महान पर्व वडादसैं अन्तर्गत दशमीको दिनदेखि कोजाग्रत पूर्णिमासम्म सरायँ नाच अर्घाखाँचीको अर्घा भगवती मन्दिरसहितका मन्दिरबाट नाच्न सुरुवात भएको संस्कृतिविदको भनाइ रहेको छ । तरबार, खँुडा र हतियार लिएर पञ्चेबाजाको तालमा नाचिने यस नाचमा देवीको प्रतीक आलमलाई समेत लिएर नाच्ने चलन अनुसार नै सरायँ नाच नचाएको उपाध्यक्ष जिवलाल पन्थीले जानाकारी दिए । तरबार, खँुडा र हतियार प्रदर्शनसहित नाचिने यो नाचले देवी खुसी हुने विश्वास रहेको जितगढी सरायँनाच ब्यवस्थापन समिति सल्लाहकार दिपक पन्थीले बताए । देवीले महिसाशुर र कुम्भको वध गरेको दिन विजयादशमीको दिनदेखि नाचिने यो नाच खुसीयालीमा नाच्न थालिएको अग्रज हरुको भनाइ छ । सराय नाच अर्घाखाँची आसपासका जिल्लामा बढी प्रचलित छ । गुल्मी, अर्घाखाँची, पाल्पाबाट अत्यधिक मात्रामा बसाइ सरी रुपन्देहीमा आएकाले आफ्नो परम्परा सस्ंकृति संरक्षण गर्न जरुरी रहेको सरायँनाच ब्यवस्थापन समिति सचिव पिताम्वर भण्डारीले बताए । यस नाचलाई जस्ताको तस्तै युवा पुस्तामा सार्नसके मात्रै यसको संरक्षण हुने दुर्गामन्दिर ब्यवस्थापन समिति उपाध्यक्ष बालकुमारी सुवेदीले बताए ।

हिन्दू सांस्कृतिक परम्पराको जगेर्ना गर्न तथा सबै समुदायबिच धार्मिक, जातीय सदभाव कायम गरी भाइचाराको सम्बन्ध विस्तार गर्न र देशमा दीगो शान्ति सुव्यवस्था कायम गर्न सरायँ नाच नाच्ने गरिन्छ । यस प्रकारको सरायँ नाच यहीं हेर्न पाएपछि आफुहरु जन्मथलोमै भएको महसुस भएको सरायँनाच हेर्न गएकाहरुले बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?