Butwal Today

खाद्यान्न असुरक्षा र यसको असर

२९ आश्विन २०८०, सोमबार
अ+
अ-

खाद्यान्न मानिसको आधारभूत आवश्यकता हो । दैनिक कार्यको लागि आवश्यक पर्ने शक्तिका साथै शारीरिक र मानसिक वृत्ति विकासका लागि आवश्यक पर्ने तत्वहरु खाद्यान्नबाटै प्राप्त हुन्छन् । मानिसले पशुजन्य श्रोत र वनस्पतिजन्य श्रोतबाट आवश्यक खाद्यपदार्थ प्राप्त गर्दछन् । संसारका अधिकांश मानिसको अधिकांश समय खाद्यान्नको जोहो गर्दैमा बित्ने गर्छ । प्रकृतिमा उपलब्ध धेरै श्रोत र साधनहरु मानिसले खाद्य पदार्थको उत्पादन गर्नमा नै खर्चिएको पाइन्छ । खाद्य तथा कृषि संगठनका अनुसार पृथ्वीको कूल बसोवासयोग्य जमिनको २५ प्रतिशत जमिन र पृथ्वीमा उपलब्ध पिउनयोग्य पानीमध्ये ७० प्रतिशत पानी खाद्यान्न उत्पादनमै खर्च हुने गरेको छ । त्यसैगरी संसारमा हुने ८० प्रतिशत वन बिनास खाद्यान्न उत्पादनको लागि भएको छ भने विश्वव्यापी ऊष्णीकरणको मुख्य कारण मानिने हरितगृह ग्यासको उत्सर्जनमा खाद्यान्न उत्पादन क्षेत्रको ३० प्रतिशत योगदान छ ।

मानिसको अत्यावश्यक आवस्यकता मानिने खाद्यान्नमा विश्वका सबै मानिसको पहुँच भने छैन । विश्वका एक अरब मानिसहरु अहिले भोकमरीबाट ग्रस्त छन् भने भोकमरीकै कारणले हरेक दिन पाँच वर्र्ष मुनिका २० हजार बालबालिकाहरु मर्ने गर्दछन् । एकातर्फ विश्वमा आवश्यक मात्रामा खान नपाएको कारणले जनसंख्याको ठुलो हिस्सा मरिरहेको छ भने अर्कोतर्फ विश्वमा उत्पादित खाद्यान्नको ठुलो हिस्सा त्यत्तिकै खेर गैरहेको छ । खाद्य तथा कृषि संगठनका अनुसार विश्वमा हरेक वर्ष करिव एक अर्ब ३३ करोड टन खाद्यान्न उपयोगमा नआई खेर जाने गरेको छ । अहिले विश्वमा उत्पादित खाद्यान्नको एक तिहाई हिस्सा नष्ट हुने र खेर जाने गरेको छ । विश्वका धनी राष्ट्रका जनताले मात्र २२ करोड २० लाख टन खेर फाल्ने गरेका छन् । धनी राष्ट्रका मानिसले वितरण र उपयोगको क्रममा खाद्यान्न खेर फाल्ने गरेका छन् भने गरिव राष्ट्रका मानिसले उत्पादनको क्रममा नष्ट गरिरहेका छन् ।
नेपालको स्थिति
नेपालको ६०.४ प्रतिशत मानिसहरुले कृषिलाई मुख्य पेशा बनाएका छन् । नेपालको करिव २१ प्रतिशत भूभागमा खेतीपाती हुने गरेको छ । अहिले नेपालमा वार्षिक एक करोड ९० लाख मेट्रिक टन अन्न, २ लाख ७८ हजार मेट्रिक टन तेलहन, ३२ लाख मेट्रिक टन आलु, ४० लाख टन तरकारी र १२ लाख ५० हजार टन फलफूल उत्पादन भैरहेको छ (आर्थिक सर्वेक्षण २०७७ ) नेपालको मुख्य अन्नबाली धान हो । कूल खाद्यान्न उत्पादनमा यसको हिस्सा ५० प्रतिशत भन्दा बढी रहेको छ । धान पछि प्रमुख बालीहरुमा क्रमशः मकै, गहुँ, कोदो, फापर र जौं पर्छन् । देशमा अन्न र अन्य खाद्यबाली र खाद्य पदार्थको उत्पादन अवस्था सन्तोषजनक भएपनि खाद्यान्न उपयोगको अवस्था भने चिन्ताजनक छ । नेपालीको प्रतिव्यक्ति वार्षिक खाद्यान्न उपलब्धता २८० केजी मात्र छ । देशका आधा भन्दा बढी जिल्ला खाद्य न्यूनताको अवस्थामा रहेका छन् र देशको झन्डै ८.१ प्रतिशत जनसंख्या दैनिक निर्धारित क्यालोरीको न्यूनतम मात्रा उपभोग गर्न बाट वन्चित रहेका छन् (पन्ध्रौं योजना २०७६–२०८१). नेपालीहरुले आफ्नो कूल खर्चको ६१.५ प्रतिशत खानामा खर्च गरिरहेको भएपनि करिव ३४ प्रतिशत मानिसहरु छाक बिराएर खाना खान बाध्य छन् र खाद्यान्नकै कमीको कारणले गर्दा नेपालका ५ वर्ष मुनिका करिव ३१ प्रतिशत बालबालिका कम तौलका छन् (नेपाल जीवनस्तर सर्वेक्षण २०११) ।

एक प्रतिवेदनका अनुसार नेपालमा हरेक वर्ष करिव १७ लाख मेट्रिक टन खाद्यान्न नष्ट हुने गरेको छ । यो उत्पादन, वितरण र भण्डारण प्रक्रियामा भएको क्षति मात्र हो । नेपालमा किसानहरुले राम्ररी ध्यान नदिदा चरा, मुसा र अन्य जनावरबाट खेतवारीमै ठुलो मात्रामा खाद्यान्न नष्ट हुने गरेको छ । त्यसैगरी खाद्यान्न भण्डारण राम्रो नहुँदा मुसा, किरा फट्यांग्ररा, ढुसी र चिस्यानको कारणले पनि खाद्यान्न नष्ट भैरहेको छ । समाजमा धेरै परिवर्तन भैसक्दा पनि नेपालीहरुको खाने र पकाउने व्यवहारमा खासै परिवर्तन हुन सकेको छैन । अनुमान नगरी धेरै खाना पकाएर फाल्ने, चाडपर्वको बेलामा धेरै खानेकुरा तयार गर्ने तर कम मात्र उपयोगमा आउने, अन्नलाई जाँडरक्सी बनाउन प्रयोग गर्ने जस्ता कारणले गर्दा नेपालमा धेरै खाद्यान्न खेर गैरहेको पाईन्छ ।

खाद्यान्न र वातावरण

खाद्यान्न उत्पादनमा धेरै किसिमका वातावरणीय श्रोतको प्रयोग भैरहेको हुन्छ । विकासोन्मुख राष्ट्रमा हुने अधिकांश वनविनास खाद्यान्न उत्पादन संगै सम्बन्धित हुन्छन् । खाद्यान्न उत्पादन गर्नको लागि धेरै पानी, रासायनिक मल, बिषादी, इन्धन र श्रम लागेको हुन्छ । खाद्यान्न नष्ट हुँदा वा उपयोगमा नआई खेर जाँदा वातावरणीय श्रोतहरु लगायत भौतिक श्रोत र सम्पत्ति समेत नष्ट हुने गर्छ । खाद्यान्न खेर जाँदा समाजमा खाद्यान्न अभाव हुन्छ फलस्वरुप आवश्यकता पूरा गर्नको लागि थप उत्पादन गर्नुपर्ने हुन्छ । यो क्रममा वातावरणीय श्रोतहरुमा अझ चाप बढ्दै जान्छ । खानको लागि तयार गरेको खाद्यान्न खेर फाल्दा त्यस्ता वस्तुहरु कुहिएर मिथेन जस्तो अत्यन्त हानिकारक हरितगृह ग्याँस उत्पादन हुन्छ जसले गर्दा समग्र परिस्थितीक प्रणालीमा नै असर पुग्छ ।

गर्नुपर्ने कार्य

नेपालको संबिधान २०७२ ले खाद्य सम्प्रभुतालाई आधारभूत मानव अधिकार मानिसकेको अवस्थामा सबै नेपालीहरु आवश्यक खाद्यान्न उपलब्धताको पहुँच भित्र हुनु आवश्यक छ । नेपालमा प्रतिव्यक्ति खाद्यान्न उपलब्धता कम हुनुको कारण न्यून उत्पादन र वितरणमा असमानता मात्र नभएर खाद्यान्न नष्ट हुनु पनि हो । खाद्यान्न नष्ट हुने र खेर जाने प्रक्रियाले गर्दा नेपालीको श्रम, सम्पत्ती र वातावरणीय श्रोतको ठुलो हिस्सा खेर गैरहेको छ । यिनीहरुलाई खेर जानबाट जोगाउन र सबै नेपालीहरुलाई खाद्यान्न उपलब्ध गराउनको लागी खाद्यान्न खेर जाने र नष्ट हुने अवस्थाको निराकरण गर्नु पर्छ. ।

नेपलमा उत्पादन र प्रशोधन प्रक्रियामा ठूलो परिमाणमा खाद्यान्न नष्ट भैरहेकोले यसबाट जोगिन सुरक्षित खाद्यान्न उत्पादन प्रक्रिया अपनाउनु पर्छ । बालीनालीलाई किरा, मुसा र अन्य जनावरबाट जोगाउनको लागि किसानहरुलाई आवश्यक तालिम दिनु पर्छ । मौसमी प्रतिकुलता र बाढीपहिरोबाट खाद्यान्न नष्ट हुने अवस्थाको अन्त्य गर्नको लागि कृषकहरुको लागि मौसम सूचना प्रणाली भित्र आवद्ध गराएर मौसम सम्बन्धी सूचनाहरु निःशुल्क र नियमित रुपमा उपलब्ध गराउनु पर्छ । किसानहरुले खाद्यान्न भण्डारण गर्दा चिस्यान, तापक्रम र किरामुसाबाट सुरक्षा गर्ने कुरामा विशेष ध्यान दिनु पर्छ. । हाम्रा भान्साकोठा र घरमा धेरै खानेकुराहरु दिनहुँ खेर गैरहेका छन् । खानेकुराहरु खेर जान नदिनको लागि हामीले खाना खाने बानीमा सुधार गर्नु आवश्यक छ । आवश्यक मात्रामा मात्र खाना तयार गर्ने, बजारमा खाद्यान्न पाइन सक्छ भन्दै अनावश्यक खाद्यान्न घरमा नथुपार्ने, चाडपर्व र भोज भतेरमा अनावश्यक र धेरै खाद्य सामग्री तयार नगर्ने र खाद्यान्नलाई जाड रक्सी बनाउन प्रयोग नगर्ने हो भने धेरै मात्रामा खाद्यान्न जोगाउन सकिन्छ । खाद्यान्न जोगिनु भनेको जीवन जोगिनु हो, श्रोत साधन जोगिनु हो अनि समग्र प्रकृति र पृथ्वी जोगिनु हो ।

[email protected]