Butwal Today

मृत्युको चक्रपथ

२७ आश्विन २०८०, शनिबार
अ+
अ-

कसले बनाएको हो
यो चक्रपथ ?

यही चक्रपथमा
चुपचाप चुपचाप
हिंडिरहेछु जुगजुगदेखि

अभिशप्त छु
यही बाटोमा हिंडिरहन
जहाँबाट हिंड्छु, त्यहीं पुगिरहन

(प्रिय ब्रेख्त !
‘चेन्जिङ द ह्विल’मा तिमीले भनेका थियौ—
सडकपेटीमा बसेको छु
पाङ्ग्रा फेरिरहेको छ चालक
जहाँबाट आएको हुँ, त्यो ठाउँ मन पर्दैन मलाई
अनि जता जाँदै छु, त्यो ठाउँ पनि मन पर्दैन
तैपनि,
किन यति व्यग्र भएर
पाङ्ग्रा फेरेको हेरिरहेको छु म ?
प्रिय ब्रेख्त !
म पनि यदाकदा समयले पाङ्ग्रा फेरेको हेरिबस्छु)

नयाँ बाटो रोज्ने दिमाग
नयाँ बाटो खोज्ने आँखा
नयाँ बाटो हिंड्ने पाइतलाहरू
सप्पै सप्पैलाई
राखेर मतपेटिकाभित्र
आफैंले
ताला लगाएको थिएँ
चाबी सुम्पेको थिएँ
र, हिँडेको थिएँ–
माटो किनेर मरुभूमिमा खेती गर्नेहरुको देशमा

थाक्छु हिंड्दा हिंड्दै
मर्छु निर्दोष मृत्यु बारबार सुदूर मरुभूमिमा
फर्केर हेछनर्् मेरा इच्छाहरुले चारैतिर
देख्दैनन् कतै—
मैले चाबी सुम्पेको
कुनै पनि ‘महान्’ महानुभावलाई

सायद छुटिगए ती
इन्द्रजालीको कुनै छलमा
सायद डुबिगए ती
सत्ताको दलदलमा

पहरैपिच्छे बाटो फेरिरहेछ पुच्छ«ेतारा
सालैपिच्छे बाटो फेरिरहेछ नदी
भन्ज्याङैपिच्छे बाटो फेरिरहेछ हावा

देख्छु—
आफ्नो इच्छानुसार
बाटो बदल्दै र फेर्दै
उडिरहेका छन् चरा

तर म ?
किन सक्तिनँ नयाँ बाटो फेर्न ?
भ्रमको तुवाँलो चिरेर
उज्यालो एउटा क्षितिज हेर्न ?

दशकौंदेखि हिंडिरहेछु
यही चक्रपथमा
कहिले बेरोजगारीको चक्रपथमा
कहिले रेमिट्यान्सकोे चक्रपथमा
मृत्युको अन्तहीन चक्रपथमा

अहो यो चक्रपथ !
जहाँबाट म हिंडिरहेछु
सँधै त्यहीं पुगिरहेछु ।