Butwal Today

पैसा बुझाएको एक दशकमा बल्ल बिजुली

२५ आश्विन २०८०, बिहीबार
अ+
अ-

पाल्पा, २५ असोज ।

पाल्पाको निस्दी गाउँपालिकामा बल्ल बिजुली पुगेको छ । विद्युतका लागि पैसा बुझाएको एक दशकपछि पाल्पाको निस्दी गाउँपालिकाको ज्यामिरे, बतासा र सिन्दुरे गाउँमा पहिलो पटक बिजुली बत्ती बलेको हो । ज्यामिरेको बतासा र सिन्दुरे गाउँमा बिगत लामो समयदेखि बिजुली बत्तीको पर्खाइमा रहेका स्थानीयहरु पहिलो पटक बत्ती पुगेपछि खुशी भएका छन् ।

विद्युतका लागि ज्यामिरेका स्थानीयले दश बर्ष अगाडी करिब २ लाख रुपैयाँ बुझाएको भएपनि दशकसम्म पनि बिजुली बाल्न नपाएपछि स्थानीय निराश बनेका थिए । ढिलै भएपनि गाउँमा बल्ल बिजुली बलेपछि स्थानीय अहिले उत्साहित भएका छन् ।

निस्दी गाउँपालिकामा अझैपनि ६० प्रतिशत नागरिकहरु विद्युतको पहुच भन्दा बाहिर रहेका छन् । बाकी रहेका गाउँमा पालिकाले बिद्युत बिस्तारका लागी ७२ करोड रकम बिनियोजन गरेर काम गरिरहेको छ ।

विद्युत बिस्तार भएपछि गाउँका ४५ घरपरिवारले सुविधा लिएका छन् । गाउँपालिकाका अध्यक्ष मुक्त बहादुर सारुले स्थानीयको मेहनत, साथ र सहयोगले बिजुली बाल्न सकिएको भन्दै सम्बन्धित सबैलाई धन्यवाद दिए । स्थानीय बासिन्दाको एकता भएमा बिकासका काममा सफलता मिल्ने भन्दै आफुले सधै सकारात्मक सुझाबको अपेक्षा राखेको उनले बताए ।

गाउँमा बिजुली बत्ती बलेपछि विद्यार्थीहरुलाई पढ्न, रेडियो सुन्न, टिभी हेर्नका लागि सजिलो हुने र टुकीको भरमा बस्नु नपर्ने जनप्रिय माविका प्रअ टेक बहादुर पल्लीले बताए ।