© 2026
पाल्पा, १८ असोज ।
सुन्तला भन्नासाथ कात्तिक र मंसिरका लागि मात्र खान योग्य हुन्छ भन्ने आम सर्वसाधरणको बुुझाइ रहेको छ । पाल्पाको सुन्तला जात फलफूल विकास केन्द्रमा भने भदौको अन्तिम हप्तादेखि सुन्तला पाकेका मात्र छैनन्, असोजमा खानका लागि योग्य भएको नयाँ प्रजातिको सुन्तला किन्नेहरुको दिनहँु भिड लाग्ने गरेको छ ।
नेपाल सरकारका बागवानी तथा फलफुूल क्षेत्रका विज्ञ तथा वैज्ञानिकहरुले लामो समय सम्म अध्ययन अनुसन्धान गरी सफल परीक्षण भएको पारी पात्ले अगाौटेव (ओकीचुवार) जातको सुन्तला फार्ममा पाकेको हो ।
तानसेन बजारका स्थानीय प्रतिभा श्रेष्ठ असोजमा नै ठूला–ठूला दाना रसिलो स्वादको सुन्तला तयार हुँदा आफू दंग परेको बताउँछिन् । स्थानीय तथा पाल्पाको हावापानीमा खेती गरिदै आएको सुुन्तलाको तुलनामा ठूला ठूला दाना, फलमा गुलियोको मात्रा कम, त्यसैगरी अमिलोको स्वाद नै नभएको नयाँ प्रजातिको सुन्तला स्थानीय जातको तुलनामा निकै रसिलो भएका कारण आफू निकै प्रभावित भएको उनले बताईन् ।
जापानीज प्रजातिको यो फल नेपालमा यसको संभाव्यताको विषयमा लामो समयको अनुसन्धानपछि सफलता पाएको यो जाताको सुन्तला पूर्वदेखि पश्चिमसम्मका पहाडमा खेती गर्न कृषकलाई सिफारिस गरिएको राष्ट्रिय सुन्तला जात अनुसन्धान कार्यक्रम (परिपात्ले) धनकुटाका वैज्ञानिक उमेश आचार्यले बताए ।
मध्यम आकारमा फैलिने प्रकृतिको यो जात उन्सोबाली अन्तर्गत पर्दछ । समुद्री सतहबाट ८ देखि १४ सय मिटर उचाइमा खेती गर्न सकिने यो प्रजातिको पाल्पाको सुन्तला जात फलफूल विकास केन्द्रमा विगत एक दशक अगाडिबाट परीक्षणका क्रममा लगाइएको थियो । यो प्रजातिको फल पाल्पाका सबै क्षेत्रमा लगाउन सकिने केन्द्रका प्रमुख दिपक भट्टराई वताउँछन् । सुन्तला स्वादमा पनि फरक, दाना ठूलाठूला भएकाले यस प्रजातिमा आफ्नो आकर्षण बढेको छ । अन्य प्रजाति भन्दा अगाडि नै उत्पादन लिन सकिने भएकाले कलमी गरेर व्यावसायिक रुपमा लगाउने तयारी भएको रैनादेवी छहरा गाउँपालिका मुझुङ्गकी कृषक वसन्ती कार्की बताउँछिन् ।
यस अगाडि तानसेन नगरपालिकाको बौघागुम्भामा सञ्चालित होमस्टेमा परीक्षणका रुपमा लगाइएकोमा सफल भएको स्थानीयहरुको बताउँछन् । कलमी गरेको बिरुवाबाट तीन वर्षमा उत्पादन लिन सकिने र उमेर समूह अनुरूप एक बोटमा ४० देखि १ सय ५० केजी उत्पादन लिन सकिने यो प्रजातिको सून्तला एक रोपनी क्षेत्रफलमा २० वटा बोट लगाउन सकिने प्राविधिकहरु बताउँछन् । नयाँ प्रजातिको सिफारिस भएको फलमा ६ प्रतिशत गुलियो र ०.८ देखि एक प्रतिशतसम्म अमिलोको मात्रा हुन्छ । यो फल दशैको मौसममा तयार हुने गर्दछ । यसको व्यावसायिक खेती गरिए दशैलाई लक्षित गरेर आयातित गरिने र फलफूूललाई विस्थापन गर्न सकिने प्राविधिकहरु बताउँछन् ।