Butwal Today
आधारभूत तहको स्थानीय पाठ्यक्रमः

स्थानीय सरकारले नै चिनेन

स्थानीय तहको स्थापना भएको सात वर्ष बितिसक्दा पनि लुम्बिनी प्रदेशका १०९ पालिकामध्ये करिब ५३ प्रतिशत पालिकाले कक्षा १–८ को स्थानीय पाठ्यक्रम र पाठ्यपुस्तक दुबै बनाएका छैनन् । पालिकाले अगुवाइ नगर्दा विद्यालयहरूले स्थानीय पाठ्यक्रमको बिषयमा ऐच्छिक अंग्रेजी र कम्प्यूटर बिषय पठनपाठन गर्ने गरेका छन् ।
१४ आश्विन २०८०, आइतबार
अ+
अ-

बुटवल, १४ असोज । अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाले गत वर्ष कक्षा १–५ सम्मको पाठ्यक्रम बनाएको थियो । अहिले पाठ्यपुस्तक लेखनको काम गरिरहेको छ । पालिकाका शिक्षा अधिकृत तुबलाल सापकोटाले सकेसम्म छिटो पाठ्यक्रम बनाइ लागु गर्ने बताए । अहिलेसम्म स्थानीय पाठ्यक्रमको विषयको सट्टा कम्प्यूटर विषय पठनपाठन गराइरहेको छ । पालिकामा आधारभूत तहको कक्षा संचालन गर्ने २१ वटा विद्यालय छन् ।
रूपन्देहीको सम्मरीमाई गाउँपालिकामा स्थानीय पाठ्यक्रमको विषयको ठाउँमा ऐच्छिक अंग्रेजी पठनपाठन भइरहेको छ । आधारभूत तह (कक्षा १–८) को कक्षा चल्ने १४ वटा विद्यालयमा छन् । पालिकाले अहिलेसम्म कक्षा १–३ को पाठ्यक्रम मात्रै बनाएको छ ।
पाल्पाको रिब्दीकोट गाउँपालिकामा पनि स्थानीय पाठ्यक्रम बनेको छैन् । पालिकाले यो वर्ष मात्रै स्थानीय पाठ्यक्रम बनाउने तयारी गरेको गाउँपालिकाका शिक्षा अधिकृत मणि खनाल बताउँछन् । पालिकाका विद्यालयले स्थानीय पाठ्यक्रमको ठाउँमा कम्प्यूटर र ऐच्छिक अंग्रेजी विषय पठनपाठन गर्दै आएका छन् । लक्ष्मी माविका प्रधानाध्यापक दिपक कुँवरले विद्यालयको जनशक्ति अनुसार विद्यालयहरूले कम्प्यूटर र अंग्रेजी विषय पठनपाठन गरिरहेको बताए । हुन त स्थानीय पाठ्यक्रमको विषयमा त्यसो गर्न नहुने हो तर पाठ्यक्रम नबन्दासम्म त्यसरी नै काम चलाइरहेका छौं ।

राष्ट्रिय पाठ्यक्रम प्रारूप, विषयगत पाठ्यक्रम तथा पाठ्यपुस्तको मापदण्ड र पाठ्यक्रमको खाका तथा नमुना पाठ्यपुस्तक तयार गर्ने काम सङ्घ सरकारको जिम्मेवारीमा छ । राष्ट्रिय पाठ्यक्रमप्रारूपको मार्गदर्शन र विषयगत मापदण्ड तथा खाकाभित्र रही पाठ्यपुस्तक तयार गर्ने काम प्रदेश सरकारको हो । त्यसैगरी राष्ट्रिय पाठ्यक्रम प्रारूपको मार्गदर्शन र खाकाभित्र रही स्थानीय आवश्यकता पूरा गर्ने गरी स्थानीय पाठ्यक्रम तथा पाठ्यसामग्रीको तयारी स्थानीय तहको क्षेत्राधिकारमा पर्दछ ।

कामको यस्तो बाँडफाँडका आधारमा आधारभूत तहको कक्षा ८ सम्मको मातृभाषा/स्थानीय विषयको पाठ्यक्रम, पाठ्यपुस्तक एवम् पाठ्यसामग्री स्थानीय तहले तयार गर्नुपर्दछ । तर पालिकाहरूले त्यसरी काम गर्न सकेका छैनन् । यसले गर्दा आधारभूत तहमा अध्ययनरत बालबालिकाले स्थानीय पाठ्यक्रमको विषय पढ्न पाएका छैनन् । रूपन्देहीको गैडहवा गाउँपालिकाले पनि स्थानीय पाठ्यक्रम निर्माणको सुरसार नै गरेको छैन् । शिक्षा शाखाकी बालिका गौडेलले स्थानीय पाठ्यक्रम बनाउने अवस्था नभएकाले प्रधानाध्यापकको सल्लाहमा स्थानीय पाठ्यक्रमका ठाउँमा अंग्रेजी ग्रामर विषय पठनपाठन भइरहेको बताइन ।

लुम्बिनी प्रदेशका १०९ पालिकामध्ये करिब ५३ प्रतिशत पालिकाले कक्षा १–८ को स्थानीय पाठ्यक्रम र पाठ्यपुस्तक बनाएका छैनन् । कतिपयले स्थानीय पाठ्यक्रम मात्रै बनाएका छन् भने कतिपयले स्थानीय पाठ्यक्रम र पाठ्यपुस्तक समेत बनाएका छन् । पाठ्यक्रम बनाउने धेरै गाउँपालिकाले कक्षा १–३ को पाठ्यक्रम र पाठ्यपुस्तक बनाउनमा जोड गरिरहेका छन् ।

स्थानीय पाठ्यक्रमको नीतिगत व्यवस्थाः

अहिले कक्षा १–८ मा १०० पूर्णांकको स्थानीय पाठ्यक्रम हुनुपर्छ । कक्षा १–३ मा मातृभाषिक सिप/स्थानीय विषयवस्तु सम्बन्धी क्रियाकलापका लागि ५ पाठ्यघण्टा र १६० वार्षिक कार्यघण्टा तोकिएको छ । कक्षा कक्षा ४–५ र कक्षा कक्षा ६–८ का ७ वटा विषयमध्ये एउटा विषय मातृभाषा र स्थानिय विषय छ । यसका लागि ४ पाठ्यघण्टा र १२८ वार्षिक कार्यघण्टा तोकिएको छ ।

किन आवश्यक छ स्थानीय पाठ्यक्रम ?

राष्ट्रिय पाठ्यक्रममा समावेश नगरिएका तर बालबालिकाले आफ्ना समुन्नतिका लागि सिक्नै पर्ने विषयवस्तुहरूलाई स्थानीय पाठ्यक्रममा राखिन्छ । पठनपाठन गराउँदा सकेसम्म स्थानीय परिवेश, स्थानीय सीप र स्थानीय विज्ञतालाई समेत सदुपयोग गर्नुपर्छ । बालबालिकाहरूले आँफैले गरेर सिक्ने विधिहरू प्रभावकारी हुने भएको कारण पाठ्यक्रमले सकेसम्म विद्यार्थीले आफैले गरेर सिक्ने गरी प्रयोगात्मक क्रियाकलापहरूका कारण ज्ञानका अतिरिक्त सिप, स्वभाव र श्रमसँग जोडिएको सिकाइले सिकारुलाई असल, अर्थपूर्ण र अत्यन्त खूशी जीवन जिउन प्रेरित गर्दछ ।

स्थानीय पाठ्यक्रमले विद्यार्थीहरूलाई आफ्नो संस्कृति र संस्कारहरूतर्फ अभिप्रेरित गर्छ, बोली, भाषा र आचरणको हिसाबले सुसंस्कृत बनाउँछ, श्रमको सम्मान गर्दै सानैदेखि श्रमलाई उत्पादनसँग जोड्न बनाउँछ, परम्परादेखि चलिआएका असल आनीबानीहरूलाई आत्मासात गर्न प्रेरित गर्छ ।

स्थानीय पाठ्यक्रमको अभ्यास
२०७८ सालमा कक्षा १–८ को स्थानीय पाठ्यक्रम बनाएको दाङको राप्ती गाउँपालिकाले गत शैक्षिक शत्रदेखि १–८ को पाठ्यपुस्तक समेत प्रयोगमा ल्याएको छ । पालिको यो वर्ष कक्षा ४–८ को पाठ्यपुस्तक तयारी गरिरहेको गाउँपालिकाका शिक्षा अधिकृत विश्वास विकले जानकारी दिए । दाङकै घोराही उपमहानगरपालिकाले पनि यस शैक्षिक शत्रदेखि १–८ को हाम्रो घोराही नामको स्थानीय पाठ्यक्रम लागू गरेको शिक्षा प्रमुख विनोद गौतमले बताए । उपमहानगरले १–३ को थारु भाषाको स्थानीय पाठ्यक्रम समेत तयार गरेको उनले बताए । तर वेलुवा प्राविको कक्षा १ मा मात्रै पाठ्यपुस्तक सहित उक्त पाठ्यक्रम लागू गरिएको छ । सो पालिकामा ९६ वटा सामुदायिक र ८० वटा संस्थागत गरी १७६ वटा विद्यालय छन् ।
बर्दियाको बारबर्दिया नगरपालिकाले २०७६ मा १–८ को पाठ्यक्रम तयार गरि शैक्षिक शत्र २०७७ बाट लागू गरेको शिक्षा अधिकृत टिकाराम योगीले जानकारी दिए । स्थानीय विषयलाई प्राथमिकता दिइएको स्थानीय पाठ्यक्रममा विपद् व्यवस्थापन पनि समावेश गरिएको छ । नगरपालिकाले २०७७ मा कक्षा १, २, ३ र ६, शैक्षिक शत्र २०७९ मा कक्षा ४, ५, ७ र ८ मा पाठ्यपुस्तक समेत तयार गरी स्थानीय पाठ्यक्रम लागू गरेको थियो । नवलपरासी पश्चिममा रहेको बर्दघाट नगरपालिकाले पनि १–८ को स्थानीय पाठ्यक्रम शैक्षिक शत्र २०८० देखि कार्यान्वयनमा ल्याएको छ । नगरभित्रका सामुदायिक र संस्थागत दुबै खालका विद्यालयमा निःशुल्क पाठ्यपुस्तक उपलब्ध गरेको छ ।
स्थानीय परिवेश र विषयवस्तु समेटेको हुँदा विद्यालयहरूले पाठ्यक्रमको अपनत्व लिएको पाइएको शिक्षा प्रमुख लोकराज पन्थीले बताए । विद्यालयका प्रधानाध्यापक र विषय शिक्षकलाई अभिमुखीकरण गरी पाठ्यक्रम लागू गरिएको पन्थीले बताए ।

स्थानीय आवश्यकतामुखी पाठ्यक्रम निर्माणका चुनौतीहरू :

  • केन्द्रीय पाठ्यक्रमको संरचनाका आधारमा निश्चित गरिएको पाठ्यभारका लागि विषय ।
  • विषयवस्तु छनोटदेखि सम्पूर्ण प्रक्रिया स्थानीय तहमा नै विकास र व्यवस्थापन गर्ने व्यवस्थाको उपयुक्त ढङ्गले प्रबोधीकरण र अभिमुखीकरण ।
  •  स्थानीय पाठ्यक्रम विकास र कार्यान्वयनका निम्ति स्थानीय तहमा क्षमता विकास ।
  •  स्थानीय पाठ्यक्रम विकासका निम्ति प्राविधिक तथा आर्थिक स्रोत ।
  • स्थानीय पाठ्यक्रम विकास एवम् कार्यान्वयनका निम्ति प्रभावकारी रूपमा अनुगमन तथा प्राविधिक सहजीकरण ।
  • स्थानीय तहमा स्थानीय पाठ्यक्रम निर्माणका लागि चाहिने स्रोत, साधन र व्यवस्थापकीय संयन्त्रको प्रभावकारिता ।
  •  शिक्षकहरूलाई स्थानीय आवश्यकतामा आधारित विषयक्षेत्र पहिचान गर्दै तिनको शिक्षणका लागि तालिम ।
  • स्थानीय सरोकारवालाहरूमा स्थानीय पाठ्यक्रमको महव बोध, स्थानीय सक्रियतामा स्थानीय पाठ्यक्रम निर्माण तथा कार्यान्वयन गर्ने वातावरणको विकास ।
  • स्थानीय तहबाट स्थानीय पाठ्यक्रम तथा पाठ्यसामग्री तयारी व्रियाशीलता ।

पालिकालाई जिम्मेवारी दियोे, सीप दिएनः

स्थानीय रूपमा जनशक्ति र बजेट नभएकाले पाठ्यक्रम नबनेको बताइन्छ । यो काम नहुनुमा पालिकाका जनप्रतिनिधिले ध्यान नदिनु पनि मुख्य कारण रहेको पालिकाका शिक्षाका अधिकारीहरू बताउँछन् । स्थानीय पाठ्यक्रम निर्माण र कार्यान्वयनको जिम्मेवारी स्थानीय तहलाई दिएपछि संघीय सरकारले यस काममा ध्यान दिएको छैन् । स्थानीय पाठ्यक्रम निर्माण गर्न नसकेका पालिकाहरू जनशक्ति नहुँदा र बजेटको व्यवस्थापन गर्न नसक्दा काम अगाडि बढ्न नसकेको बताउँछन् । स्थनीय पाठ्यक्रम निर्माण गर्ने अनुभव भएका व्यक्ति पालिकामा नहुँदा काम अगाडी बढन् नसकेको रूपन्देहीको रोहिणी गाउँपालिकाका शिक्षा अधिकृत मधु घिमीरे बताउँछन् । उनले पालिकाका पूर्व शिक्षकहरू समेतको कार्यदल बनाई जिम्मेवारी दिइएको भएपनि काम अगाडी बढ्न नसकेको बताए ।
कपिलवस्तुको कृष्णनगर नगरपालिकाका शिक्षा अधिकृत बलराम पन्थीका अनुसार स्थानीय पाठ्यक्रमको विषयमा संघले जिम्मेवारी मात्र दिएर टारेको छ । पालिकाको जनशक्तिको क्षमता अभिबृद्धि गर्न सहयोग नगरेको स्थानीय पाठ्यक्रम निर्माणमा ढिलाई भएको उनले बताए । यो संघ सरकारको हेलचक्रयाइ हो अधिकृत पन्थीले भने, सबै पालिकाको जनशक्ति एउटै छैन, पालिकाको अवस्था पनि फरक छ । उनले स्थानीय रूपमा जनशक्ति नभेटिएपछि पाठ्यक्रम बनाउने जिम्मेवारी पालिका बाहिरका व्यक्तिलाई दिन थालिएको बताए । हामीले यो वर्ष १–८ को पाठ्यक्रम बनाउने तयारी गरिरहेका छौं उनले भने, दशैंपछि काम शुरु गछौं ।
संघीय सरकार अन्तर्गत रहेको पाठ्यक्रम विकास केद्र, सानोठिमीकी निर्देशक कुन्ती अधिकारी पनि स्थानीय तहलाई पाठ्यक्रम निर्माणसम्बन्धि जनशक्ति विकासमा काम गर्न नसकिएको बताउँछिन् । स्थानीय तहबाट आएका पाठ्यक्रमलाई हेर्ने र वेबसाइटमा अपलोड गर्ने त गरेका छौं, उनले भनिन् । अहिलेका लागि स्थानीय तहले अनुरोध गरे केन्द्रबाट प्राविधिक रूपमा सहयोग गर्न सकिए पनि पालिकाहरूले के कसरी काम गरिरहेका छन् भनि हेर्ने र निर्देशन दिने अधिकार आफुहरूलाई नभएको उनले बताइन ।
उनका अनुसार स्थानीय तहको पाठ्यक्रम निर्माणमा सहयोग पुग्ने गरी केन्द्रमा छुट्टै शाखा स्थापना गर्ने योजना छ । जनशक्ति र बजेट अभावले गर्दा फिल्डसम्मै पुगेर काम गर्न नसकिने हुँदा केन्द्रमै त्यस्तो यूनिट बनाउने कार्ययोजना रहेको उनले बताइन ।