Butwal Today

बजार अनुगमनमा तीव्रता (फोटो फिचर)

१२ आश्विन २०८०, शुक्रबार
अ+
अ-

चन्द्रौटा(कपिलवस्तु), १२ असोज ।

कपिलवस्तुका मुख्य व्यापारिक क्षेत्रमा बजार अनुगमन गरिएको छ । चाडपर्वको सिजन सुरु भए सँगै जिल्ला प्रशासन कार्यालय कपिलवस्तु, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, कृषि ज्ञान केन्द्र, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सहितको टोलीले संयुक्त रूपमा बजार अनुगमन गरेको जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले जनाएको छ ।

होटेल तथा रेस्टुरेन्टमा खानाको गुणस्तर, तेलको अवस्था लगायतका विषयमा अनुगमन गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय कपिलवस्तुका प्रमुख रमेश दाहालले बताए । अनुगमनका क्रममा पाउरोटी उद्योग, आइस क्रिम उद्योग, मासु पसल, एग्रोभेटलाई कारबाही गरेको जिल्ला प्रशासन कार्यालय कपिलवस्तुका ना.सु. बाबुराम शर्माले जनाए । अनुगमन टोलीले पालिकासँग सहकार्य गरी होटेल तथा रेस्टुरेन्ट, किराना पसल, खाद्य उद्योग, हाटबजार, दुघ डेरी, माछा तथा मासु पसलको अनुगमन गरेको छ ।

अनुगमनका क्रममा म्याद गुज्रिएका खाद्य पदार्थ बेच्ने, मूल्य सूची टाँस नगर्ने, इजाजत नलिई व्यवसाय गर्ने लाई कारबाहीको दायरामा ल्याएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्दका प्रमुख विष्णु प्रसाद खनालले बताए । घरेलु तथा साना उद्योग कार्यालय तौलिहवाका प्रमुख प्रेम बहादुर गौतम, कृषि ज्ञान केन्द्र कार्यालय कपिवस्तुको प्रमुख भास्कर पौडेल लगायतले खाद्य सामाग्रीमा लापरवाही गर्न नहुने बताएका थिए ।