Butwal Today

पाल्पामा डेंगीबाट एकको मृत्यु

९ आश्विन २०८०, मंगलवार
अ+
अ-

पाल्पा, ९ असोज ।

पाल्पामा डेंगी संक्रमणबाट एक जनाको मृत्यु भएको छ । सोमबार माथागढी गाउँपालिका– १ चिदीपानी बुढीकोटका ३५ वर्षीय गोविन्द सारुको डेंगी संक्रमणबाट मृत्यु भएको हो ।

ती व्यक्तिको तानसनेस्थित युनाइटेड मिसन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डा. राजेन्द्र गिरीका बताए । सारुलाई असोज ५ गते मिसन अस्पतालमा भर्ना गरिएको थियो । उनलाई डेंगीका साथै स्क्रबटाइफससमेत पोजिटिभ देखिएको प्रमुख गिरीले जानकारी दिए । केही दिनदेखि ज्वरो आउने, जोर्नी दुख्ने लगायतका समस्याका कारण उनी स्वास्थ्य उपचारका लागि अस्पताल पुगेका थिए ।

जिल्लामा डेंगी संक्रमणबाट यसअघि तानसेन नगरपालिका–६, बर्तुङकी ६९ वर्षीया महिला साथै स्याङ्जा गल्याङकी एक बालिकाको तानसेनस्थित युनाइटेड मिसन अस्पतालमै उपचारका क्रममा मृत्यु भएको थियो । पाल्पामा हाल डेंगीबाट २ सय ८५ जना संक्रमित भइसकेका छन् ।