Butwal Today

उदीयमान खेलाडी जन्माउने बर्दघाटः खेलकूद विकासमा भने सधै उपेक्षित

खेलक्षेत्रमा बजेट विनियोजन गर्न कन्ज्युस्याइँ गर्ने, कुनै पनि खेल क्लव वा सँगठनहरुले आयोजना गर्दछौँ भनेर नगरमा पुग्दा बजेट अभाव देखाइनु सामान्य भएपनि नगरका खेलाडीले कुनै ठूलो सफलता हात पार्दा हाम्रो नगरका खेलाडी भनेर गर्विलो बन्न स्थानीय सरकार भने अग्रसर देखिन्छ
९ आश्विन २०८०, मंगलवार
अ+
अ-

बर्दघाट, ९ असोज ।

राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमै नगरको नाम परिचित गराउने खेलाडी जन्माएको बर्दघाट नगरमा खेलकुदका गतिविधि भने अत्यन्तै न्युन रहेका छन् ।

वर्षमा हुने एकाध प्रतियोगिता बाहेक क्षमतावान खेलाडी छनौटका लागि कुनै विशेष कार्यक्रम हुने गरेका छैनन् । जिल्लाको प्रतिनिधित्व गर्दै अन्यत्र हुने प्रतियोगितामा सहभागी हुने खेलाडी छनौट गर्न मुख्य भूमिका स्थानीय पालिकाको हुने गर्दछ । पालिकाले आफ्नो पालिका भित्रका प्रतिभावान खेलाडीको पहिचान गरी उनीहरुलाई उचित तालिमको ब्यवस्था र खेलेरै पनि सहज जीवनयापन गर्न सकिन्छ भन्ने प्रत्याभूति दिलाउन सक्नु पर्छ ।

स्थानीयस्तरमा खेलकुदको विकास गर्ने उद्देश्यले बर्दघाट नगरपालिकाले करिव १ वर्ष पहिले दिपक थापाको अध्यक्षतामा बर्दघाट नगर खेलकुद विकास समिति गठन गरेको थियो । लामो समयको रस्साकस्सीपछि अध्यक्ष बनेका थापाले १३ सदस्यीय समितिको नेतृत्व गरिरहेका छन् ।

तर समितिको सक्रियतामा नगरस्तरीय फूटवल प्रतियोगिता र राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागिता जनाउनु बाहेक अन्य खेलकुद गतिविधि भने हुन सकेका छैनन् । राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा ख्याती कमाएका खेलाडीहरु फूटवलका बिमल घर्ती मगर र राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेल, विश्वकप क्रिकेट अण्डर १९ का दिपक डुम्रे बर्दघाट नगरबासी हुन् । आफ्नै बलबुतामा खेलक्षेत्रको शिखरमा पुगेका यी खेलाडीहरुले स्थानीय सरकारले खेल क्षेत्रलाई प्राथमिकतामा राख्न नसकेको कुरा केही समयअघि पँक्तिकारसँग भएको कुराकानीका क्रममा बताउनुले पनि खेलक्षेत्र स्थानीय तहमा उपेक्षित रहेको दर्शाउँछ ।

बर्दघाट नगरपालिकामा खेलकुदको विकास गर्ने उद्देश्यले खेल मैदानहरुलाई ब्यवस्थित र सरक्षित गरी रँगशालाको रुपमा परिणत गर्दै लैजानु पर्छ भन्ने मान्यता राखेपनि सो अनुरुप काम अघि बढ्न सकेको छैन । अहिले इन्डोर खेलको लागि वडा नम्बर ४ र १२ मा २ वटा कभर्डहल सञ्चालनमा रहेका छन् । बर्दघाटमा निकै लोकप्रिय रहेको फूटवल खेलको लागि वडा नम्बर १६ मा रहेको खेल मैदानलाई सूर्यनगर रँगशाला नामाकरण गरी स्तरोन्नती भएपनि न्युन बजेटका कारण मैदान ब्यवस्थित हुन सकेको छैन । वडा नम्बर ४ मा रहेको क्याम्पाचौर खेल मैदानको डिपिआर तयार पारी रँगशाला निर्माण गर्ने यसअघिको स्थानीय सरकारको योजनाले निरन्तरता पाउन सकेको छैन ।

स्थानीय सरकारले खेलकुुदको विकासको लागि न्युन बजेट विनियोजन गर्दा प्रतियोगिता सञ्चालन गरी क्षमतावान खेलाडी पहिचान गर्न गाह्रो भएको नगर अध्यक्ष थापाको भनाई छ । बर्दघाट नगरपालिकाले यस आर्थिक वर्षका लागि खेलकुदका सबै क्षेत्र समेट्न २५ लाख रुपैयाँ मात्र बजेट विनियोजन गरेको छ ।

बर्दघाट नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले कार्यविधि तयार पारेको र सोही कार्यविधि अनुसार खेलकुदका समेत काम अघि बढेको शाखा प्रमुख लोकराज पन्थीले बताए । शाखा स्वंयले कार्यक्रम गर्ने भन्दा पनि नगरमा गठित नगर खेलकुद विकास समिति मार्फत कार्यक्रमहरु सञ्चालन हुँदै आएको शाखा प्रमुख पन्थीको भनाई छ ।

नगर खेलकूद विकास समितिका अध्यक्ष थापाले नगरमा रहेका क्षमतावान कुनै पनि विधाको खेलाडी पहिचान गरी उनीहरुलाई तालिमको ब्यवस्था गर्ने र नियमित अभ्यासको वातावरण मिलाउने आफ्नो मुख्य उद्देश्य रहेको बताउँछन् । पालिका बाहिर वा जिल्ला बाहिर हुने प्रतियोगिताको लागि खेलाडी छनौट, उनीहरुलाई प्रतियोगितामा सहभागिता गराउँदा लाग्ने खर्च नगरले छुट्याएको बजेटले नथेग्ने अध्यक्ष बताउँछन । उनी भन्छन् “जिल्ला बाहिर खेल खेलाउन लैजाँदा यातायात, जर्सि र खानबस्नमा ठूलो खर्च आँउछ तर नगरले न्युन बजेट मात्र निकासा गरिदिँदा आर्थिक समस्या पर्ने गरेको छ ।” खेलक्षेत्रमा बजेट विनियोजन गर्न कन्ज्युस्याँइ गर्ने, कुनै पनि खेल क्लव वा सँगठनहरुले आयोजना गर्दछौँ भनेर नगरमा पुग्दा बजेट अभाव देखाइनु सामान्य भएपनि नगरका खेलाडीले कुनै ठूलो सफलता हात पार्दा हाम्रो नगरका खेलाडी भनेर गर्विलो बन्न स्थानीय सरकार भने अग्रसर रहेको हुन्छ ।