Butwal Today

अर्थतन्त्र सुधार गर्ने कार्यक्रम ल्याउन सरकारलाई उद्योगी/व्यवसायीको सुझाव

८ आश्विन २०८०, सोमबार
अ+
अ-

बुटवल, ८असोज । रुपन्देहीका उद्योगी/ब्यवसायीहरुले अर्थतन्त्रमा सुधार आउने गरि कार्यक्रम ल्याउन सरकारलाई आग्रह गरेका छन । सोमबार बुटवल उद्योग वाणिज्य संघमा कोशेली घर उद्घाटन तथा उत्प्रेरणा कार्यक्रममा बोल्ने बक्ताहरुले युवा पलायन र आर्थिक अवस्थाप्रति चिन्ता ब्यक्त गर्दै सुझाव दिए ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका कार्यवाहक अध्यक्ष सुरकृष्ण वैद्य तथा संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजू, प्रदेश अध्यक्ष कृष्णप्रसाद शर्माले उद्घाटन गरेका हुन । त्यस अवसरमा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका वाणिज्य उपाध्यक्ष समेत रहेका कार्यवाहक अध्यक्ष वैद्यले कोशेली घर स्थापनाले यस क्षेत्रको महिला उद्यमशिलतामा बृद्धि हुने विश्वास व्यक्त गरे । उनले अझै पनि मुलुकको अर्थतन्त्र सुधारका लागि सरकार तयार हुँदैन भने उद्योगी व्यवसायी सडकमा आउनुको विकल्प नभएको बताए । उनले उद्योग व्यवसायमा संकटकालको स्थिती रहेको बताउँदै साना ठूला सबै उद्योगी व्यवसायीलाई आन्दोलनमा जानुपर्ने अवस्था आउन सक्ने बताए । ‘करको दायरा मात्रै होईन दर पनि बृद्धि भएको छ, बैंक व्याज उच्च छ, व्यापार व्यवसायमा मन्दी आएको छ ।’ उनले भने–‘सरकार हाम्रा कुरा सुन्दैन, सडकमा आउनुको विकल्प छैन ।’

महिला उद्यमीहरूले सञ्चालन गरेका उद्योगका उत्पादन तथा स्थानीय हस्तकलाका सामानहरू सुपथ मुल्यमा बिक्री वितरण गर्ने गरी कोशेली घर सञ्चालनमा ल्याईएको संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले बताए ।