Butwal Today

आजको मौसम अनुमान : सबै प्रदेशमा पानी पर्ने, पूर्वी तराईमा हावाहुरी पनि आउने

५ आश्विन २०८०, शुक्रबार
अ+
अ-

काठमाडौं, ५ असोज ।

आज (शुक्रबार) देशका सबै प्रदेशमा पानी पर्ने तथा केहीमा भारी वर्षा र हावाहुरीको समेत सम्भावना रहेकाले सजगता अपनाउन मौसम पूर्वानुमान महाशाखाले सुझाव दिएको छ।

महाशाखाले अघि बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ।

यस क्रममा कोशी र गण्डकी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना देखिएको छ। साथै दिउँसो मधेश र कोशी प्रदेशका तराई भूभागका एक/दुई स्थानमा हावाहुरीको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।

बुलेटिनअनुसार राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ।

यस क्रममा कोशी र मधेश प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना छ।

महाशाखाले आगामी २४ घण्टा (शनिबार बिहान ६ बजेसम्म) का लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ।

जसमा भनिएको छ– कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी र गण्डकी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ। मधेश र कोशी प्रदेशका तराई भूभागका एक/दुई स्थानमा हावाहुरीको सम्भावना छ। वर्षाका कारण त्यस क्षेत्रहरूबाट बहने नदीको जलसतह हल्का बढ्नसक्ने, गेग्रान बहाव, बाढी, पहिरो, भूक्षयजस्ता प्रकोप हुनसक्ने भएकाले जनस्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुनसक्ने असुविधा साथै चट्याङ र तराईमा हावाहुरीको जोखिम रहने हुँदा सोबाट हुनसक्ने क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।