Butwal Today

संविधान संशोधन अपरिहार्य : जसपा

३ आश्विन २०८०, बुधबार
अ+
अ-

बुटवल,३ असोज । जनता समाजवादी पार्टी, नेपालले संविधान संशोधन अपरिहार्य भएको बताएको छ।

संविधान दिवसको अवसरमा पार्टीका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले पार्टीको धारणा सार्वजनिक गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीलाई संस्थागत गर्न संविधान संशोधन गर्नुपर्ने बताएका हुन्।

जनता समाजवादी पार्टीले पहिचानसहितको संघीयता र समावेशी राज्य , पूर्ण समानुपातिक संसद र प्रत्यक्ष जन निर्वाचित कार्यकारी राष्ट्रपतिय प्रणालीको व्यवस्था, शक्तिशालि जनलोकपाल गठन गरी भ्रष्टाचार अन्त्य, न्याय प्रणालीलाई संघीय स्वरुपमा पुनर्संरचना, नागरिकतामा विद्यमान लैङ्गिक विभेदको अन्त्य र सबै नेपाली नागरिकलाई नागरिकता , संघीय गणतन्त्र नेपालका सबै अङ्ग, तह र निकायहरुमा सरकारी कामकाजमा बहुभाषिक नीति लागू , राज्यले प्रयोग गर्ने भाषालाई संविधानमा सूचिकृत गरिनुपर्ने र सबै भाषाहरुको संरक्षण र विकास गर्ने दायित्व राज्यको हुनुपर्ने लगायत विषय सम्बोधन गर्न संविधान संशोधन अपरिहार्य भएको बताएको छ । पार्टीले संविधान जारी हुनुअगावै देखि उठाउँदै आएका यावत माग र मुद्दाप्रति जसपा, नेपाल प्रतिवद्ध रहेको र संविधान संशोधन गरी जनताका माग र मुद्दा सम्बोधन गरिनुपर्छ भन्ने मान्यतामा दृढ रहेको बताइएको छ।