Butwal Today

सुवास नेम्वाङप्रति नेताहरुको स्मरणः ठूलो षडयन्त्र रोकेकैले संविधान जारी भयो

२ आश्विन २०८०, मंगलवार
अ+
अ-

बुटवल, २ असोज ।

नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले संविधान बन्न नदिने षडयन्त्रलाई संविधानसभाका अध्यक्ष सुवाशचन्द्र नेम्वाङले रोकेको बताएका छन् ।

“अव संविधान बन्ने भयो भनेपछि विभिन्न शक्ति केन्द्र यसलाई रोक्ने षडयन्त्रमा लागेका थिए, नेपालमा सिक्किमको घटना दोहोर्याउन सकिन्छ भनेर योजना बनाएका शक्ति केन्द्रको दवावलाई नेम्वाङले रोक्नुभयो र मुलुकले नयाँ संविधान पायो”–ज्ञवालीले भने ।

नेपालको संविधान निर्माणमा सुवासचन्द्र नेम्वाङ विषयक मंगलबार बुटवलमा आयोजित विचार गोष्ठीमा बोल्दै उपाध्यक्ष ज्ञवालीले यस्तो बताएका हुन् ।

संविधानसभाका अध्यक्ष नेम्वाङलाई मुलुकमाथि गम्भीर षडयन्त्र हुँदैछ भन्ने सूचना पाएपछि त्यसको दवावलाई झेल्दै सबै दललाई सहमतिमा ल्याएर संविधान निर्माणमा नेतृत्वदायी भूमिका खेलेको ज्ञवालीले जिकिर गरे । नेकपा (एमाले) लुम्बिनी प्रदेश तथा रूपन्देही जिल्ला कमिटीले आयोजना गरेको कार्यक्रममा उपाध्यक्ष ज्ञवालीले भने, “संविधान सभाको चुनाव नै कसरी हुन्छ भन्ने थाहा नभएको अवस्थामा उहाँबाटै राजनीतिक दलहरूले धेरै कुरा थाहा पाएका हुन्, नेपालमा सिक्किमको घटना दोहोराउने खेल हुँदै थियो, यो सूचना सुवासलाई थाहा थियो । त्यसैले संविधान जारी गर्न उहाँ हतारिनुभएको थियो । ड्राफ्ट भइसकेको संविधान जारी नगर्न दवाव थियो ।”

नेम्वाङले दलहरूलाई भेटेर संविधान जारी नभए मुलुक नरहन सक्छ भनेर भनिरहेको कुराको स्मरण गर्दै उपाध्यक्ष ज्ञवालीले भने, “उहाँ भन्नुहुन्थ्यो, संविधान जारी भयो तर यो आफै लागू हुन्न । यसको मर्म र भावनामा टेकेर कसरी हामीले बुझ्छौ ? लागू गर्ने काममा कति इमान्दार हुन सक्छौं ?”

नेता ज्ञवालीले नेम्वाङको निधनले आज सिंगै देश एकजना ब्यक्तिको अभावमा शोकमग्न भएको बताए । “उहाँ एमालेको मात्र नेता होइन, सवैको साझा नेता हुनुहुन्थ्यो भन्ने सबैको धारणाले देखाएको छ, उहाँ चुनाव कहिल्यै नहार्ने व्यक्ति हो तर राष्ट्रपतिको चुनावमा हार्ने थाहा थियो र पनि उठेर हार्नुभयो । वार, संविधानसभा, विद्यार्थी चुनावमा कहीँ हारेको रेकर्ड नै छैन । सबैको प्रिय हुनसक्ने मान्छे अपवाद नै हुन्छ ।”

सुशिक्षित परिवारमा जन्मेको कम्युनिष्ट आचरण भएको व्यक्ति, चित्त नवुझेपनि मिठो शैलीमा भन्न सक्ने भएकाले यस्तो वोलीमा तागत हुने र आफूलाई लागेको प्रष्ट भन्ने, तर चित्त वुझाएर भन्न सक्ने क्षमता नै नेम्वाङमा रहेको ज्ञवालीले बताए ।

एमालेका सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज पद्मा अर्यालले भारतीय दवाव, युरोपियन युनियनको चलखेलका बाबजुद निकै चलाखीपूर्ण तरिकाले सबै दलसँग समन्वय गरेर सुवास नेम्वाङले संविधान जारी गर्न सकेको बताइन् । “त्यतिवेला धेरै जटिलता थिए, परिवर्तनलाई संस्थागत गर्ने, जनताको तहमा अधिकार ल्याउने कुरा सामान्य थिएन । नेपालको संविधान कुन बाटोमा लैजाने ? यो प्रश्न पनि थियो । जसको समाधान संविधान सभाबाट उहाँकै पहलमा भयो ।”

अर्यालले नेपालमा अस्थिरता सृजना गरेर स्वार्थ लिन खोज्नेहरू रहेको र युरोपियनको चलखेलको स्वार्थ रहेको भन्दै भारतका विदेश सचिवको दौडधुप लगायतका गतिविधिलाई निस्तेज बनाएर संविधान जारी गर्नु सामान्य विषय नरहेको बताइन् । उनले हरेक प्रतिकुलतालाई अनुकुलतामा बदलेर सचेतनापूर्वक चालिएका कदमले संविधान जारी हुन सकेको बताइन् ।

अर्यालले नेम्वाङसँग सबैलाई मिलाउन सक्ने क्षमता रहेको स्मरण गरिन् । “विभिन्न दिशामा रहेकालाई एउटै ठाउँमा ल्याउने खुवी थियो । अरू कोही पात्रबाट सो काम हुन सक्दैनथ्यो । ब्यक्ति ब्यक्तिलाई राखेर कुरा गर्नसक्ने, सवैको साझा दाई वन्न सक्ने, असहज अवस्थालाई सहज बनाउन सक्ने, सवैको अभिभावकत्व लिन सक्ने ब्यक्ति हो । वास्तवमा यस्तो मान्छे के मुलुकले फेरि पाउला ?” उनले भनिन् ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य हकिकुल्ला खाँले शालीन, अविचलित, धैर्यताका साथ काम गर्नसक्ने व्यक्तिको निधनले देशलाई अपूरणीय क्षति भएको र उहाँको अभाव मुलुकलाई खड्किरहने बताए । “संविधान जारी गर्नु चानेचुने कुरा थिएन । सो अवस्थामा जिम्मेवारीपूर्वक काम गरेर दुई पटक नै सो जिम्मा लिएर गाँठो फुकाउन सक्नुभयो, सवैलाई जोड्न सक्ने खुवी थियो । उहाँ संविधानविद् मात्र हैन राजनीतिज्ञ पनि हो । मुलुक कता लैजाने भन्ने स्पष्ट दृष्टिकोण पनि थियो”–उनले भने ।

राप्रपाका महामन्त्री ताहिर अलीले नेपाली राजनीतिका समन्वयकर्ता, सरल र मिठास बोलीका प्रतिमूर्ति, संविधानविद्को निधनले देशलाई क्षति भएको बताउँदै उहाँका स्वभाव हामीले पनि जीवनमा लागू गरेर अगाडि बढ्नुपर्ने बताए ।

नेपाली कांग्रेस रूपन्देहीका कोषाध्यक्ष हरि अर्यालले समकालीन राजनीतिका स्मरणयोग्य र विवादरहित ब्यक्तिको असामयिक निधनले नेपाली राजनीतिले ठूलो क्षति भोग्नुपरेको बताए । राष्ट्रिय जनमोर्चाका रुपन्देही उपाध्यक्ष टानबहादुर केसीले कम्युनिष्ट आचरणमा रहेका सुवास सरल, निष्कलंक भएकैले संविधान निर्माणमा अत्यन्तै ठूलो भूमिका खेल्न सकेको र उहाँको योगदानलाई सधैभरी स्मरणयोग्य रहने बताए ।

कार्यक्रममा एमाले स्थायी कमिटी सदस्यहरु लिला गिरी र दधिराम न्यौपाने, प्रदेश अध्यक्ष राधाकृष्ण कंडेल, उपाध्यक्ष भोजप्रसाद श्रेष्ठ, जिल्ला अध्यक्ष तेजेन्द्र केसीलगायतले सुवास नेम्वाङका योगदानहरुको बारेमा चर्चा गरेका थिए ।