Butwal Today

कञ्चनपुरको आईबीआरडीमा यौन धन्दा : होटल सञ्चालक सहित चार पक्राउ

२९ भाद्र २०८०, शुक्रबार
अ+
अ-

धनगढी, २९ भदौ ।

कञ्चनपुरको पुनर्वासबाट यौन धन्दामा संलग्न एक समूहलाई प्रहरीले रंगेहात पक्राउ गरेको छ । सुदूरपश्चिम प्रदेश प्रहरीले प्रदेश अनुसन्धान समूह (आरआइटी) को टोलीले शुक्रवार पुनर्वास नगरपालिका वडा नम्बर– ३ स्थित आईबीआरडीबाट बजारमा रहेको आरके होटेलबाट यौन क्रियाकलापमा संलग्न होटल सञ्चालक सहित ४ जनालाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा दुई युवती, एक युवक र होटल सञ्चालक छन् । उनीहरूको परिचय भने प्रहरीले खुलाएको छैन । श्रोतका अनुसार आरके होटेलमा खुलेयाम यौन धन्दा भइरहेको भन्ने सूचनाका आधारमा प्रहरीले छापा हानेको थियो । आरआइटीको टोलीले पक्राउ परेका चार जनालाई त्रिभुवन प्रहरी चौकीको जिम्मा लगाएको छ । प्रहरी चौकी इन्चार्ज प्रहरी निरीक्षक हेमराज भट्टले उनीहरूमाथि थप अनुसन्धान भइरहेको जानकारी दिए ।

श्रोतका अनुसार उक्त होटलमा लामो समयदेखि यौन धन्दा भइरहेको थियो । होटल सञ्चालकले युवतीहरूलाई काममा राखेर यौन धन्दा चलाइरहेका थिए ।