Butwal Today

सुवास नेम्वाङको अन्तिम बिदाइ, छोराहरु मिङ्सो र सुहाङले दिए दागबत्ती

२८ भाद्र २०८०, बिहीबार
अ+
अ-

काठमाडौं, २८ भदौ ।

संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ।

उनको पार्थिव शरीरमा छोराहरु मिङ्सो र सुहाङ नेम्वाङले दागबत्ती दिए। त्यसक्रममा नेपाली सेनाको एक टुकडीले नेम्वाङलाई अन्तिम सलामी अर्पण गरेको थियो। नेम्वाङको राजकीय सम्मानसहित बिदाइ गरिएको हो। त्यसक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहितले नेम्वाङलाई अन्तिम श्रद्धाञ्जली अर्पण गरे।

नेम्वाङको अन्तिम बिदाइमा सहभागी हुन सर्वसाधारण हातमा फूल लिएर लामबद्ध भएका थिए । अन्तिम बिदाइको दृष्य क्यामरामा कैद गर्न चाहनेहरु र समाचार संकलन गर्ने पत्रकारहरु पनि उल्लेख्य संख्यामा पशुपतिमा पुगेका छन् ।

विशेष रुपले सजाइएको चितामा नेम्वाङको पार्थिव शरीर राखेपछि सुरुमा परिवारका सदस्यहरुले अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए । त्यसपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको झण्डा ओढाएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय झण्डा ओढाएका थिए । त्यसपछि अन्य विशिष्ट व्यक्ति, र सर्वसाधारणले पुष्पगुच्छा चढाएर श्रद्धा व्यक्त गरेका थिए ।

एक दिन एमाले केन्द्रीय कार्यालय च्यासलमा र अर्को एक दिन बालुवाटारस्थित निवासमा श्रद्धाञ्जलीका लागि राखेपछि बिहीबार नेम्वाङको पार्थिव शरीर पशुपति आर्यघाट पुर्याइएको थियो । बालुवाटारस्थित निवासबाट मुन्धुम सँस्कृति अनुसार प्रक्रिया पूरा गरेपछि नेम्वाङको शवयात्रा सुरु भएको थियो । शवयात्रा बालुवाटार, त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज, चाबहिल हुँदै पशुपति आर्यघाट पुगेको थियो ।