Butwal Today

मोतीराम भट्टलाई सम्झिंदा

काम गर्नेका लागि समय धेरै आवश्यक पर्दैन । प्रतिभा र इच्छाशक्तिको सन्तुलन भएमा थोरै समयमा पनि धेरै कामगर्न सकिन्छ भन्ने कुरा मोतीराम भट्टको जीवनीबाटै थाहा हुन्छ । उनले नेपाली साहित्यमा सर्वप्रथम गजल लेख्ने पराम्पराको थालनी गरे ।
२८ भाद्र २०८०, बिहीबार
अ+
अ-

“दुई आँखिभौँ त तयार छन् तरबार पो किन चाहियो
तिमी आफू मालिक भैगयौ सरकार पो किन चाहियो“

प्रस्तुत गजलका हरफहरु सुन्ने बित्तिकै सम्झना आउँछ तिनै मोतीराम भट्टको । नेपाली साहित्य आकाशका चम्किला नक्षत्र, बहुमुखी प्रतिभाका धनी, मोतीराम भट्ट नेपाली साहित्यका निम्ति अद्वितीय व्यक्तित्व हुन् । वि.सं. १९२३ भाद्र २५ गते कुशेऔंसीका दिन काठमाडौंको भोसीको टोलमा पिता दयाराम भट्ट, माता रिपुमर्दिनीदेवी भट्टका सुपुत्रका रूपमा मोतीराम भट्टको जन्म भएको हो ।

नेपाली साहित्यको माध्यमिक कालका सूत्रधार मोतीराम भट्टको योगदानको नेपाली साहित्यमा विशिष्ट स्थान रहेको छ । माध्यमिककालीन साहित्यको पर्यायका रूपमा चिनिने भट्ट बहुमुखी प्रतिभाका धनी भएका कारण साहित्यको हरेक विधामा सफलतासाथ कलम चलाउन सफल भए मोतीराम भट्टले नेपाली साहित्यमा नरहेको श्रृङ्गारिक साहित्यलाई प्रवेश गराउनको साथै हिन्दी तथा उर्दूमा प्रचलित गजल र संस्कृतमा प्रचलित समस्यापूर्ति कवितालाई नेपाली साहित्यमा प्रवेश गराई मलजल हाली फलाउने र फैलाउने कार्य गरे । शासकस्तुतिलाई छाडेर भाषा र साहित्यको सेवा गर्ने व्यक्तिको जीवनी लेखी चिनाउने मोतीरामले भानुभक्तका अन्य कृतिहरूको खोजी गरी आफैले सम्पादन गरेर प्रकाशित गर्नुका साथै भानुभक्तका समकालीन कविहरूका बारेमा अनुसन्धान र अन्वेषण गरे । मोतीराम भट्टले छापाखाना खोली त्यसको प्रबन्धकका रूपमा काम गरे भने पुस्तकालय स्थापना गरी पुस्तकालयका संस्थापक पनि भए । समग्रमा मोतीराम कवि, गजलकार, गीतकार, समस्यापूर्तिकार, नाटककार, नाटक निर्देशक, प्रकाशक, प्रबन्धक र जीवनीकार हुन् । गद्य र पद्य दुवै साहित्यमा कलम चलाउन सक्ने भट्ट सफल तथा अग्रणी युग सचेतक हुन् ।

मोतीराम नेपाली साहित्यका अन्वेषक पनि हुन् । भानुभक्तको कृतिको खोजी गर्ने, पाण्डुलिपि खोजेर छपाउनेजस्ता कार्यबाट पनि यिनी नेपाली साहित्यका कुशल अन्वेषक थिए भन्ने पुष्टि हुन्छ । मोतीराम भट्ट नाटककार तथा निर्देशक पनि थिए । भट्ट आफैले शकुन्तला, प्रिदर्शिका र पद्मावली जस्ता तीन नाटकहरू लेखेका थिए । आफूले लेखेका नाटक निर्देशन पनि गरे । उनले निर्देशन गरेको नाटक दरबारमा मात्र सीमित भयो । मोतीराम भट्टको साहित्यमा सक्रिय समय १५ वर्षजति रह्यो । यस अवधिमा दर्जनौ कृतिहरू लेखे सम्पादन गरे । ती मध्ये मुख्य कृतिहरू यस प्रकार छन् :

मनोद्वेग प्रवाह (१९४२), प्रह्लाद भक्ति कथा (१९४३), शकुन्तला (१९४४) उषाचरित्र । १९४४), पिकदूत (१९४४) प्रियदर्शिका (१९४९) भानुभक्तको जीवन चरित्र (१९४८) आदि महत्वपूर्ण रचनाहरुबाट पनि भट्टको वैशिष्ट्य उच्छ रहेको छ,नेपाली पाठकहरुका लागि । मोतीराम नेपाली साहित्यको उत्थानका लागि आफ्नो जीवन समर्पण गर्ने अलौकिक व्यक्तित्व थिए । नेपालका लागि मरिमेट्ने महान् पुरुष, राष्ट्रिय विभूति मोतीराम नेपाली भाषा साहित्यको लागि व्यक्ति मात्र होइनन् सिङ्गो संस्था नै थिए ।

काम गर्नेका लागि समय धेरै आवश्यक पर्दैन । प्रतिभा र इच्छाशक्तिको सन्तुलन भएमा थोरै समयमा पनि धेरै कामगर्न सकिन्छ भन्ने कुरा मोतीराम भट्टको जीवनीबाटै थाहा हुन्छ । उनले नेपाली साहित्यमा सर्वप्रथम गजल लेख्ने पराम्पराको थालनी गरे । उर्दू फारसीको देन गजललाई नेपाली साहित्यमा भित्र्याएर दरवारीयाहरुले विदेशी वस्तादलाई दरवारमा ल्याएर गजल सुन्ने प्रवृत्तिको अन्त्य गरी नेपाली भाषाका गजल प्रचलनमा ल्याए । भट्टले सुरु गरेको यो विधा आजका दिनमा लोकप्रिय विधाको रुपमा विकास भएको छ । मोतीराम भट्ट समस्यापूर्ति कविताका पनि सुरुवातकर्ता हुन् । संस्कृतमा प्रचलित यस पद्दतिलाई भारतेन्दु हरिश्चन्द्रको संसर्गबाट सिकेका थिए भने उत्कृष्ठ समस्यापूर्ति लेखेर उनीबाट पुरस्कार समेत पाएका थिए ।

माध्यमिककालीन नेपाली साहित्यका नायक मोतीराम भट्टले साहित्य र समाजका विभिन्न क्षेत्रमा योगदान दिँदै करिब दुई दर्जनजति पुस्तककार कृतिहरू नेपाली साहित्यमा छाडी गएका छन् । मर्ने बेलामा उनले गजेन्द्रमोक्ष, प्रह्लाद भक्तिकथा आदि नाम गरिएका मदेखि पैदा भएका जति ग्रन्थ छन् तिनै मेरा अमर सन्तान हुन् भनी जतनसाथ राखिदिन आमालाई अनुरोध गर्दै विषम ज्वरोले हमला गरेका कारण जन्मेकै तिथिका दिन वि.सं. १९५३ भाद्र कृष्ण औंसीका दिन तीस वर्षको छोटो जीवनलीला समाप्त गरे ।