Butwal Today

युक्रेनविरुद्धको युद्धमा रुसलाई सघाउने उत्तर कोरियाको वचन

२७ भाद्र २०८०, बुधबार
अ+
अ-

काठमाडौं,२७ भदौ । उत्तर कोरियाली नेता किम जोङ उनले युक्रेनविरुद्ध रुसको युद्धमा पूर्ण र निशर्त सहयोग गर्ने वचन दिएका छन्। यसलाई उनले साम्राज्यवादविरुद्धको पवित्र लडाइँ समेत भनेका छन्।

रुसको सुदूर पूर्वमा राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटका क्रममा किमले मस्कोसँगको सम्बन्ध आफ्नो एक नम्बरको प्राथमिकता भएको पनि स्पष्ट पारे।

रुस आफ्नो सार्वभौमसत्ता र रक्षाका निम्ति प्रभुत्वशाली शक्तिसँग पवित्र लडाइँ लड्न खडा भएको दोभाषेमार्फत किमले पुटिनलाई भनेका छन् । उनले राष्ट्रपति पुटिन र रुसको नेतृत्वको निर्णयलाई सधैँ समर्थन गर्ने र यो साम्राज्यवादविरुद्धको लडाइँमा हामी साथमा हुने वचन दिएका छन् ।
गत चार वर्षमा किम र पुटिनबीचको यो दोस्रो भेट हो। २०१९ मा पनि किमले रुसको यात्रा गरेका थिए। कोरोना महामारीपछि यो उनको पहिलो विदेश यात्रा पनि हो।

उनीहरुबीच हतियारका विषयमा सम्झौता हुने आंकलन गरिएको थियो। अहिले रुसलाई तोपका गोला लगायत हतियारको आवश्यकता छ।

त्यसैगरी उत्तर कोरियालाई स्याटलाइट प्रविधिको खाँचो छ। गत केही महिनामा जासुसी स्याटलाइट प्रक्षेपण गर्ने उत्तर कोरियाको प्रयास दुई पटक असफल भइसकेको छ।

पुटिनले उत्तर कोरियालाई स्याटलाइट निर्माणमा सघाउने बताइसकेका छन्।

किम रेल चढेर रुस पुगेका थिए। आफैँले रेलमा ल्याएको लिमोजिन चढेर वार्तास्थल पुगेका थिए। वार्तास्थल वोस्तोच्नी कस्मोड्रोम बन्दरगाह सहर भ्लादिभोस्तोकबाट ६० किलोमिटर टाढा पर्छ। एजेन्सी