ट्रेंडिंग:

>> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल

पाल्पाको भगवती जात्रा : नेपाल अङ्ग्रेज युद्धको स्मारक

२७ भाद्र २०८०, बुधबार
२७ भाद्र २०८०, बुधबार

“हे शक्तिस्वरूपा माता भगवती दुष्मनको मुकाविला गर्न हामी रणभूमितर्फ प्रस्थान गर्दैछौँ । रण विजय गर्न हजुरको शक्ति र आशिर्वाद हामीलाई बक्सियोस् । कृपाले विजयश्री प्राप्त गर्न सके हजुरको यो दिव्य मुर्तिलाई एक सुन्दर मन्दिरभित्र स्थापित गरी हरेक वर्ष हजुरलाई खटमा विराजमान गराई भव्यताकासाथ फौजी जवान, निजामती कर्मचारीहरूको ब्याण्ड बाजा बजाई नगर परिक्रमा गर्ने गराउने मन बचन र कर्मले वाचा र प्रतिज्ञा गर्दछु । हे अम्बे, यो दुःखी भक्तको क्रन्दन, पुकार सुनी दया गरिबक्सनुहोस् । हजुरको जय होस्” ।

१९ औं शताब्दी (वि.संं १८७१–१८७२) मा हालको रूपन्देहीको बुटवल र कपिलबस्तुको स्युराजमा भएको नेपाल अङ्ग्रेज युद्धका लागि प्रस्थान गर्ने क्रममा नेपाली सेनाका कमाण्डर कर्नेल उजिरसिंह थापाले पाल्पाको तानसेनमा प्रतिष्थापित महिषासुर मर्दिनी भगवती माता समक्ष गरेको भाकल हो यो । विश्वविजयको महत्वाकांक्षा बोकेको आधुनिक हातहतियारले सुसज्जीत अङ्ग्रेज सेनालाई तोप, बन्दुक, खुकुरी, भाला, धनुषकाँड आदी घरेलु हतियारले नेपाली सेनाले कुशलतापूर्वक अङ्ग्रेज सेनाको मुकाविला गरेर युद्ध जित्यो । अङ्ग्रेज फौजले दुई पटक गरेको भयानक आक्रमणलाई नेपाली सेनाले डटेर सामना गरी निस्तेज र निष्फल तुल्याईदियो । युद्धमा विजय भएपछि भाकल बमोजिम उजिरसिंह थापाले भगवती जात्राको प्रबन्ध मिलाए । वि.सं. १८७७ बाट शुरु भएको सो जात्राको २०३ औं श्रृङ्खला २०८० सालमा पनि यहि भदौ २१ गते विहिबार कृष्ण जन्माष्टमी ब्रत दिवसको भोलीपल्ट भव्य र उल्लासकासाथ मनाइयो ।

वि.सं. १८७२ को बैशाख ७ गते दोस्रोपटक अङ्ग्रेजले बुटवलस्थित बटौली गढीमा गरेको भयानक आक्रमणलाई निष्फल तुल्याई अङ्ग्रेज माथि विजय हासिल गरेपछि बुटवलदेखि पाल्पा सम्म विजय उत्सव मनाइयो । नेपाल राष्ट्रले नै खुशीयाली र विजय उत्सव मनायो । उजिरसिंह थापाले आफ्नो भाकल र सङ्कल्प अनुसार १८७२ सालदेखि नै काष्ठकलाको बेजोड नमूना शैलीमा तीन तले भव्य मन्दिर निर्माणको काम पनि थालनी गराई १८७६ सालमा निर्माण सम्पन्न गरे गराएका थिए । यसको प्रमाण मन्दिर परिसरमा सुरक्षित छ । मन्दिर सम्पन्न भएको पुनित अवसरमा कर्नेल उजिरसिंह थापाको आमा रणकुमारी थापाले ‘स्वस्ती श्री सम्बत १८७६ साल मिति कार्तिक वदि ५ रोज ६ मा श्री श्री श्री श्री श्री भगवती चरणः रणकुमारी सरन’ भनि उत्किर्ण गरिएको विशाल घण्ट मन्दिरबाट बाहिरिँदा मूल प्रवेशद्वारको दायाँतर्फ चढाएकी थिइन । उजिरसिंह थापाले नवनिर्मित महिषासुर मर्दिनी भगवती मन्दिरको निर्माण र मुर्ति स्थापना गरेपछि आफ्नी आमा रणकुमारी देवी थापाको नामसँग जोडेर महिषासुर मर्दिनी श्री ७ रणउजिरेश्वरी भगवती मन्दिर नामाकरण गरेका थिए । मन्दिर निर्माण र मुर्ति स्थापना गर्दा देवी देवताहरूको नामसँग आफ्नो आमा वा पत्नीको नामसँग जोडेर नामाकरण गर्ने प्रचलन नेपालमा लिच्छवीकालदेखि नै चलिआएको पाइन्छ ।

उजिरसिंहले भगवती मन्दिरको निर्माण र महिषासुर मर्दिनी श्री ७ रणउजिरेश्वरी भगवती माताको मुर्ति स्थापना गरेपछि उनले आफ्नो कद बराबरको सुनको मोलम्बो चढाइएको विशाल गजुर पनि मन्दिरमा चढाएका थिए । यसैगरी मन्दिरको भित्री प्रदक्षिणा मार्गको बायव्य कोणमा सूर्य, इसान कोणमा विष्णु, आग्नेय कोणमा शिव, नैऋत्य कोणमा गणेश आदीका मुर्तिहरू स्थापना गरी मन्दिरलाई दुर्गा पञ्चायनको रूप दिइएको थियो । यो भगवतीको मन्दिर पाल्पामा सेनवंशीय राज्यकालदेखि नै प्रतिष्थापित थियो । मन्दिरको गर्भगृहको मध्यभागमा रहेको कर्नेल उजिरसिंह थापाले लडाइ लड्न जानुअघि भाकल गरेको प्रस्तरको सेनकालीन महिषासुर मर्दिनी श्री ७ भगवती माताको मुर्तिलाई भित्री भागमा पारेर अष्ट धातुले बनेको अठार बाहु भएकी महिषासुर मर्दिनी श्री ७ रणउजिरेश्वरी भगवतीको मुर्तिलाई त्यसको अग्रभागमा स्थापना गरिएको हो । यो मूल मुर्तिको प्रतिरूप मुर्ति हो । अष्ट धातुबाट बनेको महिषासुर मर्दिनी श्री ७ रणउजिरेश्वरी भगवतीको मुर्ति अति नै मनमोहक र चित्ताकर्षक छ ।

भगवतीको मन्दिर निर्माण र नयाँ मुर्ति स्थापना गरेपछि १८७७ सालदेखि भगवती जात्राको शुरुवात गरिएको थियो । हरेक वर्ष कृष्ण जन्माष्टमीको ब्रत दिवसमा रातभर जाग्राम बसेर भोलीपल्ट यो जात्रा निकालिन्छ । १८७७ साललाई आधार मान्दा २०८० सालको जात्रा २०३ औं श्रृङ्खला हुन आउँछ । यसको शुरुवात १८७७ सालमा भएको हो भन्ने प्रमाण पनि छ । भगवती माताको खट यात्रा गराइने खटमा ‘।।स्वस्ती श्री सम्बत १८७७ साल सौर मानन् आषाढ मास दि नगतेषु १९ शुक्र बारसे दि नगत घरिषु २८ पलेषु ५५ श्री ७ भगवतीका चरणमा श्री कर्नेल उजिरसिंह थापाले चढाएको षट हो शुम्भ ।।’ भनि लेखिएको छ । यस आधारमा यो भगवती जात्राको शुरुवात १८७७ सालदेखि भएको भनिएको हो । यो जात्रा काठमाण्डौको गाईजात्रा, इन्द्रजात्रा, मच्छिन्द्रनाथ र कुमारी जात्रा पछिको काठमाण्डौ उपत्यका बाहिरको सबैभन्दा ठूलो र भव्य जात्रा मानिन्छ । यो जात्राको दिन पाल्पा जिल्लाबासीका अतिरिक्त छिमेकी जिल्ला एवं टाढा टाढाबाट समेत श्रद्धालु भक्तजन जात्रामा सहभागी हुन आउँछन् । कृष्ण जन्माष्टमीको जाग्राम बस्ने दिनदेखि नै महिषासुर मर्दिनी श्री ७ रणउजिरेश्वरी भगवतीको दर्शन गर्न र खट यात्रा हेर्न चारैतिरबाट मानिसहरू आउँछन् । जाग्रामको दिन भजनकिर्तन गरिन्छ । राती अष्टमीको भव्य पुजा गरिन्छ । त्यसदिन महिषासुर मर्दिनी श्री ७ रणउजिरेश्वरी भगवती मातालाई बडो भव्यताका साथ गरगहनाले सजाइन्छ । हुन त हरेक दिन मूल मुर्तिलाई सुनचाँदीको कलात्मक मुकुट, आकर्षक जन्तर र तिलहरी आदी विभिन्न थरीका गरगहनाले सुशोभित गराईन्छ । जात्राको दिवसमा विशेषरूपले महिषासुर मर्दिनी श्री ७ रणउजिरेश्वरी भगवती माताको वर्षबर्धन पुजा (जात्राको दिन गरिने पुजा) र त्यसको अघिल्लो जाग्रामको दिन सुरक्षित राखिएका विभिन्न धेरै गहना गुरीयाहरू ल्याएर श्री ७ रणउजिरेश्वरी भगवती मातालाई बडो भव्यताका साथ श्रृङ्गार गर्ने प्रचलन छ ।

अष्टमीको पुजा सकिएपछि साइत जुराएर भोलीपल्ट हुने जात्राको दिन खटमा राखिने महिषासुर मर्दिनी श्री ७ रणउजिरेश्वरी भगवतीको मुर्तिलाई सजधजका साथ मन्दिर समितिका पदाधिकारीले बडो सम्मानसाथ बोकेर नेपाली सेनाका अधिकृतले कर्नेल उजिरसिंह थापाको खड्ग हातमा समाई सेनाको गारदले सलामी अर्पण सहित बढाई गर्दै सम्मान साथ खटमा लगेर राखिन्छ । मन्दिरलाई दाहिने पार्दै मन्दिर परिसरमा तीनपटक खटलाई परिक्रमा गराएपछि मन्दिरको सामुन्ने खट लगेर राखिन्छ । खटलाई नगर परिक्रमा गराउने क्रममा टाढा टाढाबाट आएका हजारौँ हजार श्रद्धालु भक्तजन, पाल्पाबासी र नेपाली सेना सहभागी हुँदा तानसेनको रौनक नै विशेष किसिमको हुन्छ । यसरी नेपाल अङ्ग्रेजवीच भएको युद्धमा नेपालले जितेको स्मृतीमा मनाइने पाल्पाको भगवती जात्रा ऐतिहासिक र साँस्कृतिक सम्पदा हो । यसै तथ्यलाई महसुस गरी नेपाल फिलाटेलिक व्युरोले २०६८ साल पुस ११ गते पाल्पाको श्री ७ रणउजिरेश्वरी भगवतीको २ रूपैयाँको हुलाक टिकट प्रकाशित गरेको थियो । लुम्बिनी प्रदेश सरकारले २०७७ सालदेखि महिषासुर मर्दिनी श्री ७ रणउजिरेश्वरी भगवती खट यात्रा अर्थात भगवती जात्राको दिन पाल्पा जिल्लामा सार्वजनिक विदा दिने गरेको छ । यसरी पाल्पाको भगवती जात्रा नेपाल अङ्ग्रेज युद्ध स्मारकको रूपमा जीवन्त छ । यस तथ्यलाई इतिहासकार, सँस्कृतिविद्, नेपाली सेना, स्थानीय समुदाय र लुम्बिनी प्रदेश सरकारले मान्यता प्रदान गरेका छन् ।

यो भगवती मन्दिरको गुठी पनि प्रशस्त छ । यो जनश्रुती नभई ऐतिहासिक प्रमाण हो । त्यसैले अब नेपाल राष्ट्रले नै यो नेपाल अङ्ग्रेज युद्धमा नेपाली विजयको स्मारक दिवसलाई राष्ट्रिय दिवसका रूपमा मनाउने गरी एक दिने राष्ट्रिय विदा घोषणा गरिनुपर्दछ । यो भगवती जात्राको राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा प्रचार प्रसार गरिनु्पर्दछ । सो युद्ध स्मारकको रूपमा बुटवलमा जीतगढी, पाल्पामा काठेगढी र नुवाकोट गढी पनि रहेका छन् । हुन त यी तीनवटै गढीलाई जीतगढीका रूपमा पनि लिन सकिन्छ । युद्धनायक कर्नेल उजिरसिंह थापाको स्मृतिमा बुटवलमा उजिरसिंह माध्यमिक विद्यालय सञ्चालित छ । पाल्पाको भगवती जात्रा, बुटवलस्थित जीतगढी, पाल्पा स्थित काठेगढी र नुवाकोट गढी र बुटवलस्थित उजिरसिंह माविको संरक्षण र प्रबद्र्धनतर्फ नेपाल सरकारको ध्यान केन्द्रित हुन जरुरी छ । यी सम्पदा अन्तर्राष्ट्रियस्तरमा पर्यटकीय आकर्षणका केन्द्र बन्न सक्छन् । राष्ट्रिय अर्थतन्त्रका आधारस्तम्भ बन्न सक्छन् । अस्तु ।
सन्दर्भ सामग्री :
– समर सौन्दर्यका नायक कर्नेल उजिरसिंह थापा, नेपाल अङ्ग्रेज युद्ध र महिषासुर मर्दिनी श्री ७ रणउजिरेश्वरी भगवती जात्रा ।
पाल्पाको सेरोफेरोतिर सँस्कृति

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?