Butwal Today

एमाले रुपन्देहीले भन्यो–पार्टीले कुशल र अथक योद्धा गुमायो

२६ भाद्र २०८०, मंगलवार
अ+
अ-

बुटवल, २६ भदौ ।

नेकपा एमाले रुपन्देहीले पार्टीका उपाध्यक्ष, संविधानसभाका अध्यक्ष एवं प्रतिनिधिसभाका पूर्व सभामुख सुवासचन्द्र नेम्बाङको निधनले पार्टी स्तव्ध भएको जनाएको छ । एमाले रुपन्देहीले मंगलबार शोक वक्तव्य जारी गर्दै उहाँको असामयिक निधनले नेपालको कम्युनिष्ट आन्दोलनमा अपुरणीय क्षति पुगेको मात्र नभई हाम्रो पार्टीले एउटा कुशल र अथक योद्धा गुमाउनु परेको उल्लेख गरेको छ ।

एमाले रुपन्देहीका अध्यक्ष तेजेन्द्र केसीद्वारा जारी विज्ञप्तीमा नेम्वाङको दुःखद निधनले कम्युनिष्ट आन्दोलन, लोकतान्त्रिक आन्दोलन र सबैखाले राष्ट्रिय आन्दोलनमा गम्भीर क्षति पुगेको उल्लेख गरिएको छ । नेम्वाङको सन्तुलित र समन्वयकारी भूमिकाकै कारण सबै शक्तिहरुलाई एक ठाउँमा ल्याएर मुलुकले संविधानसभामार्फत नयाँ संविधान प्राप्त गरेको स्मरण गर्दै वक्तव्यमा अव उहाँले कोरेको मार्गचित्रमा सिंगो पार्टीपंक्ति एकतावद्ध भई शोकलाई शक्तिमा बदलेर अघि बढ्नुको विकल्प नरहेको उल्लेख गरिएको छ ।

यस शोकको घडीमा रुपन्देही जिल्ला पार्टी कार्यालयमा शोक पुस्तिका राखिने र पार्टीको झण्डा तीन दिनसम्म आधा झुकाइने वक्तव्यमा उल्लेख छ । मातहतका कमिटीलाई पनि सोही अनुरुप शोक पुस्तिका राख्न र पार्टीको झण्डा आधा झुकाउन अनुरोध गर्दै वक्तव्यमा साथै पार्टी केन्द्रीय सचिवालयको निर्णय अनुसार तीन दिनसम्म पार्टी र सम्बद्ध जनसंगठनका सबै कार्यक्रम स्थागीत गरिएको उल्लेख छ । वक्तव्यमा स्वर्गीय नेम्वाङप्रति भावपूर्ण श्रदाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गरिएको छ ।