Butwal Today

समाजवादी मोर्चाको सन्देशसभा आज बागमती प्रदेशमा, प्रधानमन्त्रीलगायत शीर्ष नेता हेटौँडा आउँदै

२४ भाद्र २०८०, आइतबार
अ+
अ-

हेटौडा, २४ भदौ ।

चार दल सम्मिलित समाजवादी मोर्चाको बागमती प्रदेशस्तरीय सन्देशसभा आइतबार (आज) प्रदेश राजधानी हेटौंडामा हुने भएको छ।सातै प्रदेशमा सन्देशसभा गर्ने निर्णयअनुसार मोर्चाले आज बागमती प्रदेशस्तरीय सभा गर्न लागेको हो।

नेकपा एकीकृत समाजवादी, बागमती प्रदेश कमिटीकी अध्यक्ष सावित्रा भुसालले आज हुने सभाको तयारी पूरा भएको जानकारी दिइन्। उनका अनुसार हेटौंडास्थित रोयल पार्टी प्यालेसमा सभा दिउँसो १२ बजे सुरु हुनेछ।

सभालाई सम्बोधन गर्न प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव, नेकपाका महासचिव नेत्रविक्रम चन्दलगायत शीर्षनेता हेटौंडा आउँदै छन्।

सभामा समाजवादी मोर्चाको अवधारणाबारे कार्यकर्तालाई प्रशिक्षण दिइने कार्यसूची छ भने कार्यक्रममा समाजवादी मोर्चाको बागमती प्रदेश कमिटी घोषणा गरिने एकीकृत समाजवादीकी स्थायी कमिटी सदस्य तथा बागमती प्रदेश कमिटीकी अध्यक्ष भुसालले जानकारी दिइन्।

यसअघि मोर्चाले सुदूरपश्चिमबाहेक सबै प्रदेशमा सन्देशसभा सम्पन्न गरिसकेको छ।