Butwal Today

४८ घन्टाभित्रमा कार्कीलाई कोशीको मुख्यमन्त्री नियुक्त गर्न सर्वोच्चको आदेश

२१ भाद्र २०८०, बिहीबार
अ+
अ-

काठमाडौँ, २१ भदौ ।

सर्वोच्च अदालतले कोशी प्रदेशको मुख्यमन्त्रीमा सबैभन्दा ठूलो दलको नेता हिक्मत कार्कीलाई नियुक्त गर्न आदेश दिएको छ।

न्यायाधीश सपना प्रधान मल्ल, कुमार चुडाल र नहकुल सुवेदीको पूर्ण इजालसले तीन दिनको सुनुवाइपछि यस्तो आदेश दिएको हो। कार्कीले ठूलो दलको हैसियतमा आफूलाई मुख्यमन्त्री बनाउन माग गर्दै सर्वोच्चमा रिट हालेका थिए। निवेदक कार्कीको माग बमोजिम रिट जारी गर्दै सर्वोच्चले उनलाई ४८ घन्टाभित्र मुख्यमन्त्री नियुक्त गर्न आदेश दिएको हो।

धारा १६८ उपधारा २ बमोजिम थापाले लिएको विश्वासको मत असंवैधानिक भएकाले उपधारा ३ बमोजिम कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न अदालतले भनेको हो । संविधानले नै मार्ग निर्देशन गरेको अवस्थामा फेरि उपधारा २ मा जान नमिल्ने भएको अदालतको फैसलामा उल्लेख छ ।

यदि कार्कीले एक महिनाभित्र विश्वासको मत लिन नसके उपधारा ५ बमोजिम बहुमत सदस्यको समर्थन प्राप्त व्यक्तिलाई मुख्यमन्त्री नियुक्त गर्न सकिने अदालतको फैसलामा उल्लेख छ । अदालतले आदेश प्राप्त भएको मितिले ४८ घण्टाभित्र नयाँ सरकार गठन गर्न परमादेश जारी भएको हो ।