Butwal Today

एमाले लुम्बिनी प्रदेश अधिवेशन: मंगलबार बिहान ७ बजेका लागि सारियो मतदान

१८ भाद्र २०८०, सोमबार
अ+
अ-

बुटवल, १८ भदौ।

नेकपा एमालेको लुम्बिनी प्रदेशको नयाँ नेतृत्वका लागि आज हुने भनिएको मतदान स्थगित गरिएको छ। तयारी नपुगेको कारण आज निर्वाचन स्निथगित गरी मंगलबार बिहान ७ बजेका लागि सारिएको निर्वाचन समितिले जनाएको छ।

तर अधिवेशनमा सहभागी कतिपय प्रतिनिधिले भने अध्यक्षका उम्मेद्वार हरि रिजालले आफ्नो पक्षमा माहोल नदेखेपछि निर्वाचन सार्न लगाएको बताएका छन्।

एमाले अध्यक्ष केपी शर्मा ओलीले शनिबार र आइतबार सर्वसम्मतबाटै नेतृत्व चयन गर्न दिए पनि दुवै समूहमा कुनै सहमति हुन सकेन ।

अध्यक्षका आकांक्षी राधाकृष्ण कँडेल र हरि रिजाल दुइटा प्यानल नै बनाएर चुनावी मैदानमा उत्रिएका छन् । कँडेल पक्षले एमाले उपाध्यक्ष विष्णु पौडेलको समर्थन रहेको र रिजाल पक्षले महासचिव शंकर पोखरेलको समर्थन रहेको प्रचार गरिरहेका छन् । दुवै पक्षले सचिवमा राखेका लक्ष्मण आचार्य भने निर्विरोध भएका छन् ।

सचिवबाहेक अध्यक्ष, उपाध्यक्ष र दुई उपसचिव तथा सदस्यहरुमा निर्वाचन हुने भएको छ । भदौ १६ र १७ गतेका लागि तय भएको प्रदेश अधिवेशन १९ गते मात्रै मतदान हुने समय तय भएको छ ।

निर्वाचन आयोगका प्रमुख हरिप्रसाद भण्डारीले मंगलबार बिहान ७ बजेदेखि निर्वाचनको तयारी गरिएको जानकारी दिए ।