Butwal Today

६० किलो सुनबारे अनुसन्धान गर्न सिआईबीका अधिकृत भारत 

१४ भाद्र २०८०, बिहीबार
अ+
अ-

काठमाडौं,१४ भदौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद गरिएको ६० किलो ७ सय १६ ग्राम सुनबारे अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्यूरोले एकजना अधिकृतलाई भारतमा पठाउने भएको छ । सूचना संकलनका लागी एकजना अधिकृतलाई भारत पठाउने तयारी भइरहेको हो । ब्यूरो स्रोतका अनुसार आज बिहिबार नै अनुसन्धान अधिकृतलाई भारत पठाउने तयारी छ ।

हङकङबाट काठमाडौँ ल्याएर तस्करले भारतमा सुन पठाउने गरेको अनुसन्धानबाट देखिएपछि भारतमा सुन रिसिभ गर्ने समूहको अनुसन्धानका लागि भारतमा पठाउन लागिएको हो । भारतमा गएर ती अधिकृतले नयाँ इन्टरपोल भारतसँग समन्वय गरेर सूचना संकलन गर्नेछन् ।

दिल्लीस्थित नेपाली राजदूतावासका कन्सुलर प्रहरी वरिष्ठ उपरीक्षक उमाप्रसाद चतुर्वेदीलाई पनि सुन प्रकरणको अनुसन्धान टिममा सामेल गरिएको छ । चतुर्वेदीले भारतबाटै अनुसन्धानमा सघाइरहेको ब्यूरोका अधिकारीहरु बताउँछन् ।

चतुर्वेदीसँग समन्वय गरेर ब्यूरोले सुन तस्करीमा संलग्न आरोपित किशोर बस्नेतलाई पक्राउ गरेर काठमाडौँ ल्याएको छ । बुधवार बस्नेतलाई काठमाडौँ ल्याइएको हो । सीआईबीले सूचना संकलनका लागि प्रहरी बरिष्ठ उपरीक्षक दिनेश आचार्यलाई हङकङ पठाएको छ । साउन १२ मा राति उनी हङकङ प्रस्थान गरेका हुन् ।

अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलको समन्वयमा एसएसपी दिनेश आचार्य हङकङ गएका हुन् । हङकङबाटै तस्करी गरेर ल्याएको ६० किलो ७ सय १६ ग्राम सुन राजस्व अनुसन्धान विभागले साउन ३ मा बरामद गरेको थियो । विभागले अनुसन्धानको जिम्मेवारी साउन २१ मा सीआईबीलाई हस्तान्तरण गरेको थियो ।

अनुसन्धानका लागी इन्टरपोलको सहयोग माग्दै सीआईबीले प्रहरी प्रधान कार्यालयमार्फत यसअघि नै पत्राचार गरेको थियो । नेपालमा पछिल्लो समय हङकङ र दुबईबाट सुन तस्करी हुने गरेको अनुसन्धानबाट थाहा भएको छ ।

सुन प्रकरणमा चिनियाँ नागरिकको मुख्य भूमिका देखिएको छ । बरामद सुन रेडी ट्रेड प्रालिले मोटरसाइकल र स्कुटरको ब्रेक प्याडमा लुकाएर काठमाडौँमा ल्याएको थियो । नेपालमा ल्याएपछि सुनलाई गालेर गिरोहले भारत पठाउने गरेको केन्द्रीय अनुसन्धान ब्यूरोले गरेको अनुसन्धानबाट थाहा भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?