Butwal Today

लिपुलेक, लिम्पियाधुरा र कालापानी भारतमा पारेर नयां नक्सा निकालेको भन्दै बालेनले गरे चीन भ्रमण वहिस्कार

१४ भाद्र २०८०, बिहीबार
अ+
अ-

काठमाडौं,१४ भदौ । नेपाली भूभाग लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई नेपालबाट हटाएर भारतमा पारेर चीनले नयां नक्सा निकालेको भन्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आजदेखि हुने तय भएको उनको चीन भ्रमण वहिस्कार गरेका छन् । नेपाली भूभागलाई चीनले नेपाललाई नै नसोधी भारतको देखाउनु हाम्रो संवेदनशीलतामाथि चालेको गलत कदम भन्दै चीनको निमन्त्रणामा हुंदै गरेको ५ दिने भ्रमण नैतिकताको आधारमा नजाने निर्णय गरेको बालेननले बताएका छन् । सामाजिक सञ्जालमा पोष्ट गर्दै उनले लेखेका छन् –
‘हामी नेपालले २०७७ साल जेठ ७ मा लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई समेटेर नयाँ चुच्चे नक्सा निकालेका थियौं ।
केही दिन पहिले चीनको प्राकृतिक स्रोत मन्त्रालयले उक्त स्थानलाई हटाएर पहिलेको बुच्चे नक्सालाई कायम गरेर नेपालको नक्सा सार्वजनिक गरेको छ ।
नेपाली भूभागलाई चीनले नेपाललाई नै नसोधी भारतको देखाउनु हाम्रो संवेदनशीलतामाथि चालेको गलत कदम मानेका छौ ।
त्यसैले आज मेरो, चीनको निमन्त्रणामा हुदैगरेको ५ दिने भ्रमण नैतिकताको आधारमा नजाने निर्णय गरेको छु ।’
बालेनको यस कदमलाई धेरैले राम्रो भनेका छन् भने कतिपयले चीनमै गएर यो विषय राखेको भए राम्रो हुने सुझाव सामाजिक सञ्जालमा राखेका छन् ।