Butwal Today

पाल्पाको जोर्तेमा पहिरोले जीप पुर्दा ३ जनाको मृत्यु, ८ घाइते

१३ भाद्र २०८०, बुधबार
अ+
अ-

पाल्पा १३ भदौ ।

पाल्पाको रिब्दिकोट गाउँपालिका-२ जोर्तेमा पहिरोले जीप पुर्दा ३ जनाको मृत्यु भएको छ। ८ जना घाइते भएका छन्। गुल्मीको तम्घासबाट बुटवल आउदै गरेको लु १ ज ४६०० नम्बरको स्कार्पियो गाडी जोर्तेमा पहिरोमा परेको हो।

पहिरोमा परी ३ जनाको घटनास्थलमै मृत्यु भएको र तीन बच्चासहित ८ जनालाई उद्धार गरिएको  जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए।

दुर्घटनामा ज्यान गुमाउनेमा जिल्ला प्रहरी कार्यालय गुल्मीमा कार्यरत प्रहरीका सहायक हवल्दार ३२ वर्षीय यमबहादुर बोहरा र गुल्मीको रेसुंगा नगरपालिका- ७ की ५० वर्षीया मनकला सुदारा छन्।

अर्का एकजना मृतक पुरुषको सनाखत हुन बाँकी रहेको डीएसपी थापाले जानकारी दिए।

भाडाको स्कार्पियो बिहान साढे ८ बजे पहिरोले च्यापिएको जिल्ला ट्राफिक कार्यालय पाल्पाका प्रमुख प्रहरी वरिष्ठ नायव निरीक्षक राजकुमार चापागाईले बताए। पहिरो खस्दा पाल्पा–गुल्मी सडकखण्ड बन्द भएको छ।