Butwal Today

नेकपाले एमसिसीसँगै बैंक र लघुवित्तका विरुद्ध संघर्ष गर्ने

११ भाद्र २०८०, सोमबार
अ+
अ-

सल्यान, ११ भदौ ।

नेपाल कम्युनिस्ट पार्टी सल्यानले एमसिसीलाई राष्ट्रघाती भन्दै जोडदार संघर्ष गर्ने निर्णय गरेको छ । उक्त पार्टीको सल्यान श्रीनगरमा सम्पन्न उत्तर र दक्षिण सल्यान जिल्ला समितिको संयुक्त चौथो पूर्ण बैठकले भ्रष्टाचार, अनियमितता, बेथिती, महिला हिंसा, बैंक र लघुवित्तहरुको ज्यादतीका विरुद्धको संघर्षलाई पनि निरन्तरता दिने निर्णय गरेको छ ।

यस्तै बैठकले संगठन विस्तार गर्ने र सो को लागि, ’सल्यानी जनताको सुखदुःखको साथी, नेपाल कम्युनिस्ट पार्टी’ नारा सहित जनएकता अभियान संचालन गर्ने, पालिकाहरुमा बैठक सहित राजनीतिक÷वैचारिक पार्टी प्रशिक्षण संगै समसामयिक बिषयमा राजनीतिक अन्तरक्रिया गर्ने निर्णय गरेको छ ।

नेपाल कम्युनिस्ट पार्टीले युवा संगठन, महिला संघ, राष्ट्रिय उद्योग वाणिज्य महासंघ, श्रमिक समुदाय मोर्चा, ट्रेड युनियन महासंघ, किसान संघ, जनपत्रकार संगठन, मगर मोर्चा लगायत भ्रातृ संगठनहरुका जिल्ला भेला तथा सम्मेलन गर्ने एवम् समाजवादी मोर्चाका कार्यक्रमहरुमा पहलकदमि लिने, सक्रिय सहभागीता जनाउने र मोर्चालाई जिल्लामा नेतृत्व प्रदान गर्ने पनि निर्णय गरेको उक्त पार्टीका युवा नेता शेर बहादुर खड्काले जानकारी दिएका छन् ।