Butwal Today

‘नेशनल आईसीटी स्कलर्शिप– २०८०’ को घोषणा

८ भाद्र २०८०, शुक्रबार
अ+
अ-

काठमाडौं, ८ भदौ ।

कम्प्युटर एशोसिएशन नेपाल महासंघ (क्यान) ले प्राविधिक शिक्षा तर्फ विगत चार बर्षदेखि प्रदान गर्दै आईरहेको छात्रवृत्तिको ‘नेसनल आईसीटी स्कलर्शिप– २०८०’ को लागि आवेदन खुल्ला गरेको छ ।

क्यान महासंघले, राष्ट्रभित्र सूचना प्रविधिको अध्ययन अध्यापन गर्ने गराउने कलेजहरुको सहयोगमा गरीव, जेहेन्दार, विद्यार्थीहरुको लागि छात्रबृद्धि प्रदान गर्दै आएको छ । यो छात्रवृत्ति काठमाडौंको मैतीदेविमा रही विगत दुई दशकभन्दा बढी समयदेखि सूचना प्रविधि बिषयमा अध्यापन गराउने कलेज (लर्ड बुद्ध एजुकेशन फाउन्डेसन) संगको सहकार्यमा शुरु गरिएको हो । यो छात्रवृत्ति मार्फत यसबर्ष पनि ४९ जना विद्यार्थीहरुलाई आंशिक तथा पूर्ण छात्रवृत्ति प्रदान गर्न लागिएको हो ।

‘नेसनल आईसीटी स्कलरसिप– २०८०’ मा देशको सातै प्रदेशका विद्यार्थीहरुले समान अवसर पाउने गरी प्रत्येक प्रदेशबाट १ जना छात्रालाई पूर्ण छात्रवृत्ति र बांकी ४२ जनालाई आंशिक छात्रवृत्ति प्रदान गरिने छ । ग्रामीण क्षेत्रमा समेत सूचना प्रविधिको विकास र सबै नागरिकमा यसको पहुँच पुर्याउनमा यस कार्यले टेवा पुर्याउदै आएको क्यानले जनाएको छ । विगत चार वर्षदेखि सञ्चालित यस छात्रवृत्ति कार्यक्रम अन्तर्गत हालसम्म ११० जना विद्यार्थीहरु अध्ययनरत छन् ।

यो वर्ष पनि फिमेल मेरिट आईसीटी स्कलर्शिपमा प्रत्येक प्रदेशबाट चार जनाका दरले २८ जना छात्रालाई छात्रवृत्ति प्रदान गर्न लागिएको हो भने आईसीटी मेरिट स्कलर्शिप अन्तर्गत प्रत्येक प्रदेशबाट तीनजनाका दरले २१ जनालाई छात्रवृत्ति प्रदान गरिनेछ ।

क्यान महासंघ र लर्ड बुद्ध एजुकेसन फाउन्डेसन कलेजबीच भएको सम्झौताअनुसार ४९ जना विद्यार्थीले २ करोड ८३ हजार रुपैयाँबराबरको छात्रवृत्ति पाउनेछन् ।

छात्रवृत्ति प्राप्त विद्यार्थीहरुले मलेसियाको एसिया प्यासेफिक युनिर्भसिटि अफ टेक्नोलोजी एण्ड इनोभेसनको संबन्धनमा सञ्चालित लर्ड बुद्ध एजुकेशन फाउण्डेशनमा स्नातक तह अन्तर्गत वि. एस. सी. आईटीको अध्ययन गर्न पाउनेछन् ।

नेपाल सरकारबाट मान्यताप्राप्त शिक्षण संस्थाबाट प्लस टु वा सो सरह उत्तीर्ण गरेका र कक्षा १० को गणित विषयमा कम्तीमा ५० प्रतिशत अंक ल्याएका विद्यार्थीहरुले छात्रवृत्तिका लागि आवेदन दिन सक्नेछन् ।
छात्रवृत्ति प्रदान गर्नका लागि क्यान महासंघले केन्द्रीय स्तरमा निवर्तमान अध्यक्ष नवराज कुँवरको संयोजकत्वमा सचिवद्वय शेखर दुलाल, ठाकुरकुमार श्रेष्ठ, भुपालदास श्रेष्ठ, नारायणप्रसाद श्रेष्ठ तथा केन्द्रीय सदस्यद्वय राजु कट्टेल र सरिता न्यौपाने रहेको छात्रवृत्ति छनौट समिति गठन गरेको छ ।

छात्रवृत्तिका लागि इच्छुक विद्यार्थीले क्यान महासंघको वेबसाइट डब्लुडब्लुडब्लु डट क्याल डट ओआरजी डट एनपी र लर्डबुद्ध एजुकेसन फाउन्डेसनको वेबसाइट डब्लुडब्लुडब्लु डट एलबीइएफ डट ओआरजी मार्फत २०८० साल भदौ २० गतेभित्र आवेदन दिनुपर्नेछ । आवेदन दिँदा कक्षा १० र १२ को मार्कसिटको प्रतिलिपिका साथै एउटा फोटो, नागरिकता वा जन्मदर्ता प्रमाणपत्र र स्थानीय सरकारको सिफारिसपत्र पेस गर्नुपर्नेछ ।
यस छात्रवृत्ति मार्फत देशका दुर्गम क्षेत्रका विपन्न वर्गका विद्यार्थीहरुले पनि सुचना तथा संचार प्रविधिको क्षेत्रलाई आफ्नो पेशा÷ब्यबसाय बनाउन मद्दत पुग्ने र कार्यान्वयनको चरणमा रहेको डिजिटल नेपाल फ्रेमवर्कलाई सहयोग पुग्ने विश्वास क्यान महासंघका अध्यक्ष रणजित कुमार पोदारले व्यक्त गरे ।
यो छात्रवृत्तिका निम्ति सुचना प्रविधि क्षेत्रको अग्रणी एवं छाता संस्था क्यान महासंघसंगको सहकार्यले देश भित्र रहेको डिजिटल–डिभाईड कम गर्न मद्दत पुग्ने र भविष्यमा यस्तै कार्यमा अन्य संस्थाहरुलाई पनि सार्वजनिक–निजी साझेदारीको निम्ति प्रोत्साहन मिल्ने लर्ड बुद्ध एजुकेशन फाउण्डेशनका अध्यक्ष ई. पंकज जालानले वताए ।