Butwal Today

नेकपा एसको विचित्रको निर्णय : पार्टी गठन भएको २ वर्षमा दशौं महाधिवेशन

७ भाद्र २०८०, बिहीबार
अ+
अ-

बुटवल,७ भदौ । नेकपा एकीकृत समाजवादीले पार्टी गठन भएको २ वर्षमै १० औं महाधिवेशन गर्ने विचित्रको निर्णय गरेको छ । माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले पार्टी गठन भएको दुई वर्षमै आगामी माघ महिनामा दशौं महाधिवेशन गर्ने निर्णय गरेको हो । नेपाल नेतृत्वको पार्टी २०७८ भदौ २ मा गठन भएको थियो ।

भदौ ५ गते सुरु भएर ७ गते बिहीबार सम्पन्न सो पार्टीको छैठौ केन्द्रीय समिति बैठकले यस्तो निर्णय गरेको हो । उसले एमालेसँग विद्रोह गरेर पार्टीको पुनर्गठन गरेकाले एमालेकै लिगेसी रहेको जिकिर गर्दै दशौं महाधिवेशन गर्ने निर्णय गरेको दाबी गरेका छ ।

नेकपा एसले एमालेको लिगेसी रहेकाले दशौं महाधिवेशन गर्ने निर्णयलाई नेकपा एमालेका सचिव योगेश भट्टराईले हास्यास्पदको संज्ञा दिए । ‘यो कहीं नभएको जात्रा हांडीगाउंमा भने जस्तै कसैले नपत्याउने हास्यास्पद निर्णय हो, एउटा दलले अर्को दलको लिगेसी छ भन्नु अराजनीतिक र विल्कुल नाजायज काम हो ’– सचिव भट्टराईले भने ।