Butwal Today

काठमाडौंबाट पोखरा जाँदै गरेको बस त्रिशूलीमा खस्यो, ८ जनाको मृत्यु

६ भाद्र २०८०, बुधबार
अ+
अ-

काठमाडौं, ६ भदौ ।

काठमाडौंबाट पोखरा जाँदै गरेको यात्रुवाहक बस धादिङको गजुरीस्थित त्रिशूली नदीमा खसेको छ । गजुरी-२ चालिसे झरना भन्ने ठाउँमा बस खसेको धादिङ प्रहरी प्रमुख गौतम मिश्रले जानकारी दिए ।

बस खस्दा ८ जनाको मृत्यु भएको छ । आठ जना घाइते भएका छन् । काठमाडौंबाट पोखरा जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस आज बिहान सवा ११ बजे सडकबाट करिब ४० मिटर तल त्रिशूली नदीमा खसेको थियो । दुर्घटनामा २ महिला र ६ पुरुष गरी ८ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता एवम् डिएसपी सन्तु जयसवालले जानकारी दिए । ‘घटनास्थलबाट १६ जनाको उद्धार गरिएको थियो, तिनीहरुमध्ये ८ जनाको डेथ भएको छ र ८ जना घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ,’ डिएसपी जयसवालले भने ।

उक्त स्थानमा सशस्त्र प्रहरी बल नेपाल विपद् ब्यवस्थापन सुरक्षा वेश आदमघाटबाट डीएसपीको कमाण्डमा १६ जना र विपद् ब्यवस्थापन तालिम शिक्षालय कुरिन्टारबाट अर्का डीएसपीको कमाण्डमा ८ जना गोताखोरसहित २६ जना सशस्त्र प्रहरीको टोली उद्धारमा खटिएको छ।