Butwal Today

कपालको स्वहेरचाह गर्न पत्रकार महिलालाई अभिमुखीकरण

६ भाद्र २०८०, बुधबार
अ+
अ-

बुटवल, ६ भदौ ।

महिलाहरुलाई कपालको स्यहार गर्नु सधै नै टाउको दुखाइको विषय हुने गर्दछ । झन् गर्मी मौसममा त लामो कपाल समस्या नै बन्ने गरेको सुनिने गरेको छ । महिलाहरुका लागि केश सौन्दर्यको प्रमुख आकर्षण मानिन्छ । त्यसैले जाडो मौसम होस् अथवा गर्मी, कपाललाई सधैं आकर्षक बनाइरहनु आफैंमा एउटा चुनौती झैं हुन्छ । जति नै चुनौती भए पनि महिलाहरु आफ्नो कपाल सुन्दर बनाउनका लागि जे जस्तो तपस्या गर्न समेत पछि पर्दैनन् । कपाल लामो भए पनि, छोटो भए पनि त्यो नरम, मुलायम र चम्किलो हुनै पर्छ भन्ने मान्यता रहँदै आएको छ । कपालको स्वहेरचाह कसरी गर्ने भन्ने कुराको जानकारी दिन सञ्चारिका समूह रुपन्देहीले पत्रकार महिलाहरुका लागि बुटवलमा अभिमुखीकरण कार्यक्रम आयोजना ग¥यो ।

पहिलोपटक आयोजना गरिएको अभिमुखीकरण कार्यक्रममा समृद्धि हेयर ड्रेसिङ सैलुन एन्ड एकेडेमी बुटवलका सञ्चालक मोहन ठाकुरले कपालको स्वहेरचाहका बारेमा पत्रकार महिलाहरुलाई जानकारी गराए । “व्यस्त जीवनसँगै कपालको हेरचाह गर्न सकिएन भने अनेक समस्या आउँछन्, सुन्दरताको लागि कपालले निकै धेरै प्रभाव पार्छ”–उनले भने ।

उनले बजारमा धेरै किसिमको केमिकलयुक्त सेम्पु, उपचार क्रिम, कन्डिसनर, सिरम जस्ता सामग्री पाइने भन्दै गुणस्तरीय सामानको मात्रै प्रयोग गर्न सुझाव दिए । “सस्तोको पछाडी लाग्दा कपालको सुरक्षामा नकारात्मक प्रभाव पर्न सक्छ, त्यसैले गुणस्तरीय सामग्री मात्रै कपालको सुरक्षा र सुन्दरताका लागि प्रयोग गर्ने गरौं”–पत्रकार महिलाहरुलाई अभिमुखीकरण गर्दै उनले भने । सही तरीकाले कपालको हेरचाह नगर्दा आजकाल धेरै महिला तथा पुरुषलाई कपालको समस्याले सताएको उनले बताए ।

कार्यक्रममा बोल्दै सञ्चारिका समूह लुम्बिनी प्रदेश अध्यक्ष एव रुपन्देही सल्लाहकार अमृता अनमोलले अग्रपंक्तिमा खटिने पत्रकार महिलाहरूले एक दिनमा धेरै कार्यक्रमहरूमा पुग्नुपर्ने बताउँदै कपालको डिजाइन हरेक परिवेशलाई सुहाउँदो खालको बनाउन सहयोग गर्न आग्रह गरिन् ।

सञ्चारिका समूह रुपन्देही अध्यक्ष निरा गौतम (निरु) ले अन्य व्यक्तिका भोगाइहरूलाई समाचारमा उतार्दा उतार्दै आफ्नो स्वहेरचाहमा ध्यान दिन नपाइएको अवस्था आएको बताउँदै समय परिवेश अनुसार आफ्नो स्वहेरचाह सम्बन्धी अभिमुखीकरण कार्यक्रम आयोजना गरिएकोे जानकारी दिइन् ।

अभिमुखीकरण कार्यक्रमकी संयोजक एवं सञ्चारीका समूह रुपन्देही सचिव पूजा पन्थी, महासचिव अस्मिना पाण्डेले अन्य बिषयमा सधै समाचार संकलन गरेर समय ब्यवस्थापनमा कठिनाई भईरहेका बेला आफ्ना लागि पनि समय निकालेर स्वहेरचाहमा लाग्नुपर्ने बताएका थिए ।

३५ जना सञ्चारकर्मी महिलाहरु सहभागी भएको कार्यक्रममा सञ्चारिका समुह लुम्बिनीका सचिव तथा रुपन्देही इन्चार्ज माया केसी, समृद्धि हेयर ड्रेसिङ सैलोन एन्ड एकेडेमीका मणिग्राम शाखा सञ्चालक अनिल अर्याल र कपिलवस्तु जितपुर शाखा सञ्चालक सन्ध्या पाण्डेले समेत आ–आफ्नो सुझाव दिएका थिए ।