Butwal Today

नवलपुरमा पहिलो सर्प महोत्सव

४ भाद्र २०८०, सोमबार
अ+
अ-

नवलपुर, ४ भदौ ।

नेपालमै पहिलो पटक पुर्वी नवलपरासीको नवलपुरमा ‘नेपाल सर्प महोत्सव’ भएको छ । नागपञ्चमी पर्वको अवसर पारेर सर्प महोत्सव आयोजना गरिएको हो । नेपाल टक्सिनोलोजी संघको आयोजना तथा जिल्ला डिभिजन वन कार्यालय, नवलपुर र मध्यविन्दु बहुमुखी क्याम्पसको सहआयोजनामा आइतबारदेखि सुरु भएको महोत्सव दुई दिनसम्म चल्ने बताइएको छ ।

सर्पका बारेमा जनमानसमा धेरै किसिमका भ्रम रहेको र कतिपय अवस्थामा सर्प र सर्पको टोकाईका बारेमा सामान्य ज्ञान पनि नहुँदा धेरैले ज्यान गुमाउनु परेकोले यसबारे जानकारी दिन महोत्सव आयोजना गरिएको सर्प संरक्षणकर्मी तथा नेपाल सर्प महोत्सव मूल आयोजक समितिका निर्देशक कमल देवकोटाले जानकारी दिए ।

महोत्सवमा सर्प, सर्पदंश र सर्प संरक्षणका बारेमा जानकारी दिने विभिन्न स्टलहरु पनि राखिएको छ । नेपालमा कति प्रकारका सर्प छन्, कति विषालु हुन्छन् भनेर छुट्टाउने र सर्पले टोकीहालेमा के गर्ने, के नगर्ने भन्ने बारेमा पनि जानकारी दिइने देवकोटाले बताए । महोत्सवमा जिवित सर्पको प्रदर्शनी समेत गरिएको थियो ।

सर्प कति विषालु हुन्छन् ?

भेरी अञ्चल अस्पताल नेपालगञ्जका सिनियर कन्सल्ट्यान्ट एवं स्नेक बाइट म्यानेजमेन्टका फोकल पर्सन डा. कृष्णप्रसाद आचार्यका अनुसार अधिकांश सर्प विषरहित हुने भएकाले सर्पले टोकिाहालेमा आत्तिनु हुँदैन । ‘२० प्रतिशत सर्पमा मात्र विष हुन्छ, ८० प्रतिशत सर्प विषरहित हुन्छन् त्यसैले सर्पले टोक्दैमा आत्तिनु हुँदैन र विषालु सर्पले नै टोकिहालेमा पनि २० प्रतिशतले विष फाल्दैन । अर्थात ‘ड्राइ बाइट’ हुन्छ आचार्यले बताए ।
विषालु सर्पले टोकेमा के गर्ने ?

डा. आचार्यका अनुसार विषालु सर्पले टोकेर विष फालिहालेमा अहिले देशभर दर्पदंसको उपचारका लागि एक सयभन्दा बढी ठाउँमा उपचार केन्द्रहरु छन् । सर्पदंसबाट मर्ने दर निक्कै कम भएको छ । पहिले १०÷१२ प्रतिशत हुने गरेकोमा अहिले दुई प्रतिशत मानिस सर्पदंसबाट ज्यान गुमाउने गरेका उनको भनाई छ ।

सर्पले टोकेमा त्यसलाई नमार्ने, टाढाबाट फोटो खिच्ने वा घेरेर राख्ने र सर्प विज्ञ बोलाएर सर्प पहिचान गर्ने गर्नु पर्छ । सर्पले टोक्ने वित्तिकै टोक्ने, काट्ने, चुस्ने गर्नु हुन्न । उपलब्ध छ भने मेडिकल ब्याण्डेजले बाध्ने र जति सक्दो सर्पदंशको उपचार हुने अस्पतालमा विरामीलाई पुर्याउनु पर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?