Butwal Today
कविता

एक अनुपस्थितिमाथि

२ भाद्र २०८०, शनिबार
अ+
अ-

तिमी गयौ
आमाले जस्तै जन्म दिएर गयौ
बुद्धले जस्तै धम्म दिएर गयौ

तिम्रो याद आउनासाथ
घाउहरू चहर्याउन छोड्छन्

तिम्रो अनुपस्थिति समुद्र हो एउटा
म डुब्छु पिँधसम्मको गहिराइमा
र, टिप्छु मिठासको मोती

तिम्रो अनुपस्थितिले
मलाई यो धर्तीको
सबैभन्दा असली प्रेमी बनायो

नीरव छैनन् मेरा रातहरू
बाहिर झ्याउँकीरीको झ्याउँझ्याउँसँगै
गुञ्जिरहन्छन् भित्र हृदयमा
तिम्रै मायाका धुनहरू

तिम्रो अनुपस्थितिले
मेरा स्वप्न–थुङ्गाहरूलाई
चुम्बन गर्छन् र हरबिहान नयाँ जीवन दिन्छन्

मदहोसीको महालङ्गुरमाथि उभिएर
म हेरिरहन्छु
हाम्रा अङ्कमालहरूको फैलावट

तिम्रा यादका हातहरू
कति हतारिन्छन्
मेरा आँसुहरू पुछ्न

तिम्रो अनुपस्थितिलाई
धन्यवाद !