Butwal Today

बाढीले भत्काएको सडक मर्मत गरिंदै 

२९ श्रावण २०८०, सोमबार
अ+
अ-
दाङ, २९ साउन ।
घोराही–तुलसीपुर सडकखण्डमा बाढीका कारण भत्किएको सडक मर्मत सुरु गरिएको छ ।  तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १७ फोर्टिनाइन चोकदेखि पूर्वतर्फको सुरैना  चिरामा आएको बाढीले सडक भत्काएको थियो । तुलसीपुर उपमहानगरपालिका र सडक डिभिजन कार्यालयका यान्त्रिक साधन प्रयोग गरेर सडक मर्मत सुरू गरिएको छ ।
तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टीकाराम खड्काले भत्किएको सडकखण्डमै पुगेर सोमबार साँझसम्म पूर्णरूपले सञ्चालनमा आउने गरी काम गर्नका लागि निर्देशन दिएका छन् । नगरप्रमुख खड्काले आवश्यक पर्ने यान्त्रिक साधनपूर्णरुपले  प्रयोग गरेरै भएपनि सडक सञ्चालनमा ल्याउनका लागि सहयोग गरिने बताए ।
घोराही तुलसीपुरको सडकअन्तर्गत त्यस क्षेत्रमा अवरुद्ध भएतापनि  सहायक मार्ग तुलसीपुर १८कोे दुधरास सक्राम सडकखण्डबाट यातायातका साधन सञ्चालनमा आएको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १८का वडा सदस्य धनबहादुर बस्नेतले जानकारी दिएका छन् । चार दिनदेखिको अबिरल वर्षाका कारण दाङका सडकहरुमा क्षती पुगेको छ ।