Butwal Today

आँखा पाक्ने रोग फैलिएपछि नवलपुरमा सबै बिद्यालय बन्द

२३ श्रावण २०८०, मंगलवार
अ+
अ-

नवलपुुर, २३ साउन ।

पूर्वी नवलपरासीमा आँखा पाक्ने रोग महामारीका रुपमा देखा परेपछि यसबाट सबैभन्दा बढी बिद्यालय पढने बिद्यार्थी प्रभाबित हुन थालेका छन् । जसका कारण जिल्लाका सबै पालिकाले चार दिन बिद्यालय बन्द गरेका छन् ।

जिल्लाको देवचुली अस्पताल, गैंडाकोट नगर अस्पताल, नवलपुुर अस्पताल, मध्यविन्दु जिल्ला अस्पताल लगायतका सबै अस्पतालमा आँखाको उपचार गराउन आउने बिरामीहरु मध्ये ९० प्रतिशतमा आँखा पाक्ने रोग एडिनो भाइरल कन्जंग्टिवाइटिस’ को संक्रमण देखिएको भन्दै सबै पालिकाले चार दिन बिद्यालय बन्द गरी बिदा दिएको कावासोती नगरपालिकाका नगर प्रमुख बिष्णु भुसालले बताए ।

मध्यविन्दु जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. जितेन कंडेलका अनुसार अस्पतालको आँखा वार्डको ओपिडीमा आँखा उपचारको लागि दैनिक एक सय देखि दुुई सय जना सम्म बिरामी आउने गरेकोमा ९० प्रतिशत बिरामीलाई आँखा पाक्ने रोग एडिनो भाइरल कन्जंग्टिवाइटिस’ को संक्रमण देखिएको हो ।

बालबालिकामा आँखा पाक्ने रोग एडिनो भाइरल कन्जंग्टिवाइटिस’को संक्रमण बढेपछि जिल्लाका सबै पालिकाले चार दिन बिदा दिएका छन् भने आँखा पाक्ने रोगबाट सबै उमेर समूहका संक्रमित भइरहेका भए पनि बालबालिकाहरुमा छिटो र धेरैको संख्यामा संक्रमित भएका हुन् ।

आँखाको सेतो भाग सुन्निने र रातो हुने यो रोगलाई ‘एडिनो भाइरल कन्जंग्टिवाइटिस’ भनिन्छ । यसको संक्रमणले आँखा रातो हुने, चिलाउने, पोल्ने, पानी बग्ने, चिप्रा लाग्ने हुन्छ । कतिपय संक्रमितमा परेला सुन्निने, आँखा बिझाउने, उज्यालो हेर्न गाह्रो हुने, दृष्टि धमिलो हुने लगायतका समस्या पनि देखिएको चिकित्सकहरु बताउँछ्न् ।

यो रोग लाग्दा संक्रमित व्यक्तिको आँखाबाट पानी निस्कने, चिप्रा लाग्ने हुँदा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा हात वा अन्य कुनै माध्यमले स्वस्थ व्यक्तिको आँखामा पुग्दा संक्रमण सर्छ । त्यसैले संक्रमित व्यक्ति वा घरबाहिर गएर फर्केका स्वस्थ व्यक्तिले हात नियमित रूपमा साबुनपानीले धुनुपर्ने चिकित्सकको सुझाव छ । यस्तो संक्रमण भएका बेला तौलिया, रुमाल, लुगाफाटो, मेकअपका सामान अरूलाई प्रयोग गर्न दिनु हुँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?