Butwal Today

पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

१९ श्रावण २०८०, शुक्रबार
अ+
अ-

काठमाडौँ, १९ साउन ।

आज (शुक्रबार) देशभर मौसम बदली र वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस क्रममा कतिपय स्थानमा भारी वर्षा र हावाहुरीको समेत सम्भावना रहेकाले सजगता अपनाउन सुझाव दिइएको छ।

महाशाखाका अनुसार दिउँसो देशका पहाडी भूभागका केही र बाँकी भूभागका थोरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना छ। साथै लुम्बिनी, गण्डकी र बागमती प्रदेशका तराई क्षेत्र र मधेश प्रदेशका केही स्थानमा हावाहुरीको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।

यस्तै राति सुदूरपश्चिम प्रदेशलगायत कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना छ। साथै कोशी प्रदेशको तराई क्षेत्र र मधेश प्रदेशका थोरै स्थानमा हावाहुरीको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।

महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ।

जसमा भनिएको छ– देशको पहाडी भूभागको केही स्थान र बाँकी भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहनुका साथै कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना छ। लुम्बिनी, गण्डकी, बागमती र कोशी प्रदेशका तराई भूभाग र मधेश प्रदेशका थोरै स्थानमा हावाहुरीको पनि सम्भावना छ। यसका कारण नदीको जलसतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भूक्षय तथा हावाहुरीजस्ता प्रकोप हुनसक्ने भएकाले जनस्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुनसक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?