Butwal Today

बचतकर्ताको रकम फिर्ता नगरे कानुनी कारबाही : गृहमन्त्री पाण्डेय

१७ श्रावण २०८०, बुधबार
अ+
अ-

भैरहवा, १७ साउन ।

लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोषकुमार पाण्डेयले सर्वसाधारणले बचत गरेको रकम फिर्ता नगरी सहकारी बन्द गरेर फरार सञ्चालकलाई कानुनी दायरामा ल्याइने बताएका छन् । उनले आम नागरिकको पैसा डुबाउने कार्यमा लाग्ने त्यस्ता सहकारीका सञ्चालकलाई कानुनी दायरामा ल्याउन प्रदेश सरकारले ऐन, कानुन बनाएर प्रक्रिया अगाडि बढाउने बताए ।

बुधबार भैरहवामा सहकारीबाट पीडित स्थानीयबासीको गुनासोलाई सम्बोधन गर्दै उनले स्थानीयस्तरमा सञ्चालित सहकारीमा कम समस्या देखिए पनि काठमाडौंलगायत बाहिरबाट आएर सहकारी खोली चलाएकाको गतिविधिबाट जनताले सास्ती खेप्नुपरेको बताए ।

सहकारीको काम हेर्ने जिम्मेवारी पनि मेरै मन्त्रालयअन्तर्गत पर्छ,’ उनले भने, ‘यो समस्या समाधानका लागि अघि म अघि बढ्छु । उनले धेरै ब्याजदर पाउने आशामा केही सहकारीमा सर्वसाधारणले बचत गरेको पाइएकाले रकम जम्मा गर्दा बुझेर मात्र गर्न आग्रह गरे‚’ उनले भने, ‘यो दिन तपाईंको रकम फिर्ता गराउँछु भन्न त सक्दैनौँ, तर सर्वसाधारणलाई ठग्ने सहकारीलाई कारबाहीको दायरामा पक्कै ल्याउँछु ।’

जनताबाट निर्वाचित जनप्रतिनिधि भएकाले जनताका मतको कदर गर्नु आफ्नो दायित्व भएको मन्त्री पाण्डेयको भनाइ छ । समस्या समाधानका लागि एक्लाएक्लै अघि बढ्नुभन्दा सामूहिक रुपमा अघि बढ्नुपर्नेमा उनले जोड दिए । उनले सर्वसाधारणले सहकारीमा जम्मा गरेको पैसा फिर्ता नहुँदा अध्ययन, उपचार तथा घरायसी प्रयोजनका लागि गरिने खर्चमा समेत मर्का परेको बताए ।

सो अवसरमा सहकारीबाट पीडितले सहकारीमा जम्मा भएका रकम फिर्ता पाउन नसकेको, सम्बन्धित निकायमा जाँदा समस्याको सुनुवाइ नभएको, पैसा फिर्ता नहुँदा आर्थिक संकटमा परेको गुनासो गरेका थिए ।