Butwal Today

व्यक्तिगत रिसिवी साँध्न वडाअध्यक्षले स्वयंसेविकालाई जागिरबाटै निकाले (भिडियोसहित)

१६ श्रावण २०८०, मंगलवार
अ+
अ-

बुटवल, १५ साउन ।

व्यक्तिगत रिस साँध्न बुटवलका एक वडाअध्यक्षले महिला स्वास्थ्य स्वयंसेविकालाई जागिरबाटै निकालेका छन् ।

बुटवल उपमहानगरपालिका वडा नम्बर १ स्थित शहरी स्वास्थ्य केन्द्रमा कार्यरत स्वयंसेविका सिता नापितलाई वडाअध्यक्ष नरेन्द्र बस्नेतले जागिरबाटै निकालेका हुन् । व्यक्तिगत दुश्मनी साँध्न र आफूले विभिन्न समयमा उठाउने गरेका विषयबारे रिसिइवी साँध्न आफूलाई हटाएको नापितले दुःखेसो पोखिन् ।

उनी सहरी स्वास्थ्य केन्द्रमा विगत २० वर्षदेखि काम गर्दै आएकी थिइन् । स्थानीयले स्वयंसेविका सीता नापितले दिंदै आएको सेवा राम्रो रहेको बताउने गर्थे । तर वडाअध्यक्ष बस्नेतले भने राजनीतिक आग्रह पूर्वाग्रह राखेर स्वयंसेविका नापितलाई हटाएको कतिपयको तर्क छ । वडाअध्यक्ष बस्नेत काँग्रेसको बागी उठेर चुनावमा विजयी भएका थिए ।

स्वयंसेविका नापितले बुटवल उपमहानगरपालिकाले पूर्ण खोप घोषणाका लागि आयोजना गरेको एक अन्तक्र्रिया कार्यक्रमममा आफ्नो वडामा सबैले पूर्ण खोप नपाएको भन्दै कसरी पूर्ण खोप घोषणा हुन्छ ? भन्दै प्रश्न उठाएकी थिइन् । उनले पूर्ण खोप घोषणामा हतार नगर्न समेत आग्रह गरेकी थिइन् । उक्त प्रश्नका कारण वडाअध्यक्ष बस्नेत उनीमाथि चिढिएका थिए । नापितले भनिन्–“यही रिस साँध्नका लागि मलाई निष्कान गरिएको हो ।”

वडाअध्यक्ष बस्नेतले वडामा उठाउनुपर्ने विषय सार्वजनिक कार्यक्रममा उठाएको भन्दै असन्तुष्टी व्यक्त गरेका थिए । यही विषयमा वडाअध्यक्ष बस्नेतले असन्तुष्टी साँध्दै रिसिवी लिएपछि उनी निष्काशनमा परेकी हुन् । नापितले आफू बिना गल्ती निष्काशनमा परेको भन्दै न्यायका लागि समेत अपिल गरेकी छन् । “२० वर्ष भन्दा लामो सेवा स्वयंसेविकाको रुपमा बिताउँदा मैले स्वास्थ्य क्षेत्रमा गरेको योगदानको अवमूल्यन भएको छ”–उनले न्युज बुटवल टुडेसँग भनिन् । आफुले गरेको सेवाको अवमूल्यन गरी पूर्वाग्रहपूर्ण तरिकाले हटाइएको भन्दै उनले आफू अन्यायमा परेको दुःखेसो पोखिन् ।

वडाअध्यक्ष बस्नेतले नापितलाई जागिरबाट निकाल्नकै लागि किर्ते स्वास्थ्य आमा समूह गठन गरी निष्काशनको निर्णय गराएका थिए । किर्ते स्वास्थ्य आमा समूह गठन गरी उक्त निर्णय गराएपछि जितगढी आमा समूहकी अध्यक्ष माया भण्डारीले सहरी स्वास्थ्य केन्द्रलाई आमा समूह पुनर्गठन के कसरी भएको हो, जानकारी पाउँ भन्दै पत्र लेखेकी छन् । साथै उक्त बैठकले महिला स्वयंसेविकालाई निष्काशन गर्नुपर्नाको कारण खुलाई जानकारी दिन समेत अनुरोध गरेकी छन् ।

जितगढी टोल आमा समूह स्वास्थ्य केन्द्रको सेवा क्षेत्रमा पर्छ । माया भण्डारी एक वर्षअघि नै जितगढी टोल स्वास्थ्य आमा समूहमा चुनिएकी थिइन् । तर उनलाई जानकारी नदिइकनै वडाअध्यक्षले यही साउन ५ गते छुट्टै भेला गरी अर्को महिला समूह बनाएर नापितलाई निष्काशनको निर्णय गराएका हुन् । नापितलाई निष्काशनको निर्णय गर्ने उद्देश्यले बोलाइएको भेलाको अध्यक्षता लक्ष्मी पन्तले गरेकी थिइन् । पन्त जितगढी टोल विकास संस्थाकी समेत अध्यक्ष हुन् ।

निष्काशनको निर्णय गरिएको माइन्युटमा बुटवल उपमहानगरपालिका स्वास्थ्य शाखाको सिफारिश अनुसार निष्काशन गरिएको व्यहोरा उल्लेख गरिएको छ । स्वास्थ्य केन्द्रका इन्चार्ज गुरुङले बुटवल उपमहानगरपालिका स्वास्थ्य शाखाले सिफारिश गरेपछि पन्तलाई निष्काशन गरिएको बताए । “स्वास्थ्य महाशाखा प्रमुख मित्रमणि खनालको पत्रका आधारमा नापितलाई निष्काशन गरिएको हो”–उनले भने । उनले छुट्टै स्वास्थ्य आमा समूह गठनमा भने मिसिङ भएको स्वीकारे । “स्वास्थय महिला समूह अन्य आमा समूह जस्तो होइन, यसको गठनमा मिसिङ भएकै हो, यसबारेमा मैले वडाअध्यक्ष र नगरपालिकामा समेत जानकारी गराइसकेको छु”–स्वास्थ्य केन्द्र इन्चार्ज गुरुङले न्युज बुटवल टुडेसँग भने ।

उपमहानगरका स्वास्थ्य शाखा प्रमुख युवराज पाण्डेयले वडा कार्यालयबाट भएको निर्णयका आधारमा नापितलाई निष्काशनको सिफारिश गरिएको बताए ।

यता, वडाअध्यक्ष बस्नेतले भने आफूविरुद्धको मुद्दामा नापित साक्षी बसेको र बारम्बार वडाअध्यक्षलाई असहयोग गरेकाले निष्काशन गरिएको दावी गरे । स्थानीय जमुना पुनले आफू विरुद्ध घरबाट निकाला गरेको लगायतका आरोप लगाउँदै जिल्ला अदालत रुपन्देहीमा मुद्दा दिएकी थिइन् । लक्ष्मी पन्तसँग जमुनाले करिव चार वर्षअघि लिएको ७ लाख क्रृणलाई मिटरब्याजको रुपमा बढाएर १३ लाख हुँदै ५० लाखसम्म पु¥याएको र यसमा वडाअध्यक्षको समेत मिलेमतो रहेको जमुनाको आरोप थियो । तर यो घटनालाई जग्गा किनबेचको फर्जी कागज तयार गरेर घरबाट निकालेको उनीहरुको आरोप छ । वडाअध्यक्षले भने यो उनीहरु दुईबीचको घटना भएको, जग्गा किनबेच नै भएको र यसमा आफूले सहजीकरण मात्रै गरेको बताए । त्यसपछि जमुनाले वडाअध्यक्षविरुद्ध नै मुद्दा हालेकी थिइन् । जमुनाको न्यायको लागि आफूले आवाज उठाएको तर मुद्दाको साक्षी भने नबसेको स्वयंसेविका नापितले बताइन् । यसलाई पनि वडाअध्यक्षले आफूमाथि व्यक्तिगत रिसिइवीको रुपमा लिएको उनले बताइन् ।

जमुनालाई घरबाट निकाला गर्ने काममा वडाअध्यक्ष बस्नेत समेत सहयोगी बनेको आरोप छ । वडाअध्यक्ष बस्नेतले भने स्वयंसेविका नापित मुद्दामा साक्षी बसेको आरोप लगाए । “मेरा विरुद्ध मुद्दा हाल्ने काम उचित थिएन, त्यसमाथि स्वयंसेविका नै मेरो विरुद्ध परेको मुद्दाको पक्षमा उभिनुभयो, यो जायज होइन”–वडाअध्यक्ष बस्नेतले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?