Butwal Today

प्रतिनिधिसभा बैठक बस्दै,सुन तस्करीबारे एमालेले सरकारको जवाफ माग्ने

१० श्रावण २०८०, बुधबार
अ+
अ-

बुटवल,१० साउन । आज प्रतिनिधिसभा बैठक बस्दैछ । संघीय संसद् भवन, नयाँ बानेश्वरमा बैठक दिउँसो १ बजे बोलाइएको छ ।

संघीय संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले बेपत्ता व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन संसदमा पेश हुनेछ ।

यस्तै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईले राष्ट्रियसभामा उत्पत्ति भएको नेपाल विश्वविद्यालय विधेयक २०८० लाई छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव पेश गर्नेछन् ।
वैठकमा सरकारका मन्त्रीहरूको संरक्षणमा लामो समयदेखि सुन तस्करी भएको भन्दै प्रमुख विपक्षी नेकपा एमालेले जवाफ माग्ने भएको छ ।

नाम नचलेको र भर्खर स्थापना भएको रेडी ट्रेड दर्ता भएको ४ महिनाभित्र ३३ पटक ब्रेक शु र सेभिङ मेसिनजस्ता सामान शंकास्पद रूपमा भित्रिनुमा सरकारको संलग्नता रहेको आरोप एमालेको छ ।

३३ पटकसम्म भित्रिएको सुन तस्करीलाई गृहमन्त्रीकै संरक्षण रहेको भन्दै एमालेले यसबारेमा जवाफ माग्न लागेको हो । आजै प्रतिनिधि सभाको बैठक बस्नुअघि एमाले संसदीय दलको बैठक बोलाएको छ ।

दलको बैठकले थप रणनीति तय गर्ने प्रमुख सचेतक पदम गिरीले बताए । एमालेले गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?