Butwal Today

सिद्धबाबा सुरुङमार्गको रिप पहिरोले भत्कायो

९ श्रावण २०८०, मंगलवार
अ+
अ-

बुटवल, ९ साउन ।  निर्माणाधिन सिद्धबाबा सुरुङमार्गको रिप (अर्ध गोलो डिजाइन) पहिरोले भत्काएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा बन्ने सुरूङमार्गका लागि डाइर्भसन सकेर टनेल पोर्टलको काम भइरहेका बेला सुरुङमार्गको प्रस्थानविन्दु बुटवलतर्फको रिपलाई मँगलबार वर्षासँगै झरेको पहिरोले भत्काएको हो । बुटवल–पाल्पा सडकखण्डको शिद्धबाबामा बर्खाको समयमा समेत सुरुमार्ग निर्माणको काम भइरहेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत सुरूङमार्गमा अहिले टनेल पोर्टलको काम भइरहेको आयोजनाले जनाएको छ ।

सुरूङमार्गका इन्जिनियर युधिष्टर पन्थीले चौविसै घण्टा सुरूङमार्ग निर्माणको काम भइरहेको बताए । आयोजनाको निर्माण कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले काम गरिरहेको छ ।

आयोजनाका अनुसार १ हजार १२६ मिटर लामो सुरूङ पाल्पाको दोभानबाट शुरु भएर बुटवलको चिडिया खोला रामपिथेकस पार्कसम्म ल्याइने छ ।सुरूङमार्गको लागत १० अर्ब रूपैयाँ अनुमान गरिएको छ ।

स्विस सरकारको विकास सहयोगमार्फत सुरूङ मार्ग निर्माणका लागि भौगर्भिक अध्ययन गरिएको थियो । सुरूङमार्ग ५ वर्षभित्र बन्ने गरी ठेक्का प्रदान गरिएको हो । ठेक्का लगाएको करिब १४ महिना पूरा भएको छ । रातिको समयमा बाटो बन्द गरेर काम भइरहेको आयोजनाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?