Butwal Today

एमाले अध्यक्ष ओलीसंग चिनियाँ कम्युनिष्ट पार्टीका नेताको भेटवार्ता

९ श्रावण २०८०, मंगलवार
अ+
अ-

काठमाडौं, ९ साउन । नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टी सीपीसी का पोलिटब्युरो सदस्य नेता युआन जियाजुनलगायतको टोलीले प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटघाट गरेको छ ।

मंगलबार बिहान च्यासलस्थित एमाले मुख्यालयमा ओलीसँग भेटघाट भएको हो । भेटवार्तामा दुई देशबीचको सम्बन्ध, आपसी हित र चासोका विषयमा छलफल भएको बताइएको छ ।

अध्यक्ष ओलीले नेपाल अहिले विकासको प्रयासमा रहेकाले चीन सरकारको अपेक्षित सहयोग महत्वपूर्ण हुने बताए । सीपीसी नेता जियाजुनले नेपाल र नेपाली जनताको विकासको सन्दर्भमा सक्दो सहयोग गर्न चीन सरकार तत्पर रहेको बताए ।

भेटका अवसरमा ओली नेतृत्वको सरकारका बेला दुई मुलुकबीचको सम्बन्ध विस्तारबारे भएको प्रगतिको पनि स्मरण गरिएको एमाले विदेश विभाग सदस्य गोपाल खनालले बताए ।

तीन दिनदेखि नेपाल भ्रमणमा रहेका जियाजुनले यसअघि रोममा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भर्चुअल कुराकानी गरेका थिए ।

श्रीलंका भ्रमण सकेर आज काठमाडौं आएका उनले विभिन्न राजनीतिक भेटघाट गरिसकेका छन् ।