Butwal Today

शैक्षिक सामग्रीले शिक्षा प्रभावकारी बन्दै

६ श्रावण २०८०, शनिबार
अ+
अ-

नवलपुर, ६ साउन ।

पूर्वी नवलपुरको कावासोती नगरपालिकामा बृहत शैक्षिक सामग्री प्रदर्शन गरिएको छ । यस शैक्षिक सामग्रीले शिक्षा पनि प्रभावकारी र गुणस्तरीय बन्दै गएको छ । कावासोती नगरपालिका क्षेत्रका सामुदायिक र संस्थागत गरी ४२ वटा विद्यालयका करीब तीन सय शिक्षकहरुले निर्माण गरेका विभिन्न विषयका शैक्षिक सामग्रीहरुको प्रतियोगितात्मक शैक्षिक सामाग्री सहित प्रदर्शनीमा सहभागी भएका थिए ।

विद्यालयमा अध्यापन गराउने एक शिक्षक, एक शैक्षिक सामग्रीले सिकाइ दिगो, रुचिगत बनाउन, घोकन्ते सिकाइलाई प्रयोगात्मक सिकाइमा रुपान्तरण गर्नका लागि पनि यस कार्यक्रमको उद्देश्य रहेको कावासोती नगरपालिकाका शिक्षा अधिकृत राजन पाण्डेले बताए । प्रदर्शनीमा उत्कृष्ट बिद्यालय र शिक्षकलाई ६ बिधामा पुरस्कृत गरिने समेत अधिकृत पाण्डेले जानकारी दिएका छन् ।

जिल्लामा नै पहिलो पटक शिक्षण सिकाईलाई प्रभावकारी गराउन विद्यालयमा शिक्षकले निर्माण गरेका शैक्षिक सामग्री प्रदर्शनमा सिकाई गराउँदा सिकाई दिगो रहने र सिकाईलाई प्रभावकारी गराउन सकिने कावासोती नगरपालिकाका श्रोतव्यक्ति शिक्षक तीर्थराज कंडेलले बताए ।

शैक्षिक सामग्रीविना शिक्षण प्रभावकारी नहुनुका साथै सम्भव पनि नहुने र त्यो टिकाउ पनि नरहने भन्दै बोलेका कुरा भन्दा गरेका र सिकेका कुरा व्यवहारमा लागु हुने साथै शिक्षक आफैले शैक्षिक सामग्री निर्माण गर्दा सिकाईलाई दिगो बनाउन सकिनुका साथै अन्य पालिका र जिल्लालाई पनि एउटा राम्रो सन्देश दिने गोसाई बाबा आधारभुत विद्यालयका प्रधानाध्यापक युवाकुमारी लम्सालले बताइन् ।

शिक्षण सामग्रीको प्रयोगलाई हरेक शिक्षकले सामान्य तरिकाले बुझाउन सक्ने र अझ परिस्कृत हुने गण्डकी आवासीय माध्यमिक विद्यालयका प्रधानाध्यापक जगत भट्टराईले बताए ।

आ–आफ्नो विद्यालयका लागि तयार पारिएको स्टलमा सामग्री प्रदर्शन गरेका थिए । प्रदर्शनीमा राखिएका शैक्षिक सामग्रीहरुलाई बालबालिका, शिक्षक, अभिभावक, जनप्रतिनिधि, कर्मचारी लगायतले अवलोकन गरेका थिए ।