Butwal Today

पाण्डवेश्वर महादेव मन्दिर धारापानीमा पुरुषोत्तम माहात्म्य सञ्चालन हुँदै

२ श्रावण २०८०, मंगलवार
अ+
अ-

दाङ, २ साउन ।

घोराही उपमहानगरपालिका–५ धर्ना धारापानीस्थित पाण्डवेश्वर महादेव मन्दिर धारापानीमा मंगलबारदेखि पुरुषोत्तम माहात्म्य एव्म शृङ्गारिक आरती बोलबम मासिक महामहोत्सव सञ्चालन हुने भएको छ ।

मन्दिरको प्रचारप्रसार तथा धर्म र धार्मिक आस्था थप सुदृढ बनाउने उद्देश्यले साउन २ गतेदेखि ३१ गतेसम्म पुरुषोत्तम महात्म्य एवम् शृङ्गारिक आरती बोलबम मासिक महामहोत्सव सञ्चालन हुन थालेको महामहोत्सव मूल व्यवस्थापन समितिका संयोजक गणेशकुमार अधिकारीले जानकारी दिए ।

उनले भने, ‘यही साउन २ गतेदेखि मलमास शुरु हुने भएकाले भक्तजनको चाहना अनुसार महामहोत्सव संचालन गर्न लागेका हौ । मलमासको समयमा मात्रै सञ्चालन गर्न मिल्ने भएकाले मात्रै धारापानी धाममा महामहोत्सवको आयोजना गरेका हौं ।’ उनले भने, महामहोत्सवमा अन्तराष्ट्रिय स्वर्णपदक विभूषित पण्डित अमृतशरण देवाचार्यले पुरुषोत्तम माहात्म्य प्रवचन दिने कार्यक्रम छ ।

त्यस अवसरमा वाराणसी समूहले प्रत्येक दिन बेलुकी वैदिक शृङ्गारिक गङ्गा आरती गर्ने कार्यक्रम रहेको संयोजक अधिकारीले बताए । उनका अनुसार महामहोत्सव अवधिभर मण्डव पूजा तथा हवन सञ्चालन, पुरुषोत्तम माहात्म्य पाठ पारायण, सङ्गीतमय लीलामय पुरुषोत्तम माहात्म्य प्रवचन, पुरुषोत्तम एवम् बोलबम महाआरती र सङ्गीतमय लीलामय प्रवचन तथा भजन सञ्चालन हुने भएको छ ।

महामहोत्सव आयोजक समितिले जिल्लामै पहिलो पटक हुन थालेको पुरुषोत्तम माहात्म्य एवम् शृङ्गारिक आरती बोलबम मासिक महामहोत्सवमा सहभागी हुन र अमृत पान गर्न भक्तजनहरुमा अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?